काठमाडौं- नेसन्स लिग फुटबलको ‘बी’ बाट ‘ए’ मा वेल्स, अस्ट्रिया, हंगेरी र चेक रिपब्लिक बढुवा भएका छन्।
नेसन्स लिगको ‘बी’ अन्तर्गत समूह ‘वान’ को विजेता हुँदै अस्ट्रिया लिग ‘ए’ मा बढुवा भएको हो। अस्ट्रियाले आफ्नो अन्तिम खेलमा नर्वेसँग १–१ गोलको बराबरी खेल्दै बढुवा भएको हो। समूह ‘वान’ मा रहेको अस्ट्रियाले ६ खेलबाट चार खेलमा जित, एकमा बराबरी र एक खेलमा हार ब्यहोर्दै १३ अंक बनाएर शीर्ष स्थानमा रहँदै लिग ‘ए’ मा बढुवा भएको हो।
यो समूहमा नर्वे दोस्रो र रोमानिया तेस्रो हुँदै लिग ‘बी’ मै कायम रहँदा ६ खेलबाट मात्र २ अंक बटुलेको उत्तरी आयरल्यान्ड चौथो हुँदै लिग ‘सी’ मा घटुवा भएको छ।
त्यस्तै, लिग ‘बी’ कै समूह ‘टु’ बाट चेक रिपब्लिक विजेता बन्दै नेसन्स लिग ‘ए’ मा प्रवेश गरेको छ। चेक रिपब्लिकले अन्तिम खेलमा स्लोभाकियालाई २–० गोलअन्तरले पराजित गरेको हो। ६ खेलबाट १२ अंक बनाएको चेक रिपब्लिक शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा रहेको स्कटल्यान्ड र तेस्रो स्थानमा रहेको इजरायल भने लिग ‘बी’ मै यथावत रहेका छन्। चौथो स्थानमा रहेको स्लोभाकिया भने नेसन्स लिगको ‘स’ मा घटुवा भएको छ।
त्यस्तै, लिग ‘बी’ को समूह ‘थ्री’ बाट हंगेरी समूह विजेता बन्दै नेसन्स लिगको ‘ए’ मा बढुवा भएको हो। हंगेरीले अन्तिम खेलमा टर्कीलाई २–० गोलअन्तरले पराजित गरेको थियो। ६ खेलबाट ११ अंक बनाउँदै हंगरी बढुवा हुँदा अन्तिम खेलमा सर्वियासँग ५–० गोलले पराजित भएको रसिया भने ‘बी’ मै यथावत् रह्यो। त्यस्तै, सर्विया पनि लिग ‘बी’ मै रहँदा ६ खेलबाट ६ अंक बनाएर समूहको पुछारमा रहेको टर्की भने नेसन्स लिगको ‘सी’ मा घटुवा भएको छ।
नेसन्स लिगको ‘बी’ अन्तर्गत समूह ‘फोर’ मा रहेको वेल्सले अन्तिम खेलमा फिनल्यान्डलाई पराजित गर्दै ‘ए’ मा बढुवा भयो। वेल्स र फिनल्यान्डबीचको विजेता टिम शीर्ष स्थानमा रहँदै बढुवा हुने समीकरण थियो। वेल्सले आफ्नै मैदानमा फिनल्यान्डलाई ३–१ गोलअन्तरले स्तब्ध बनायो।
६ खेलबाट १६ अंक बनाएको वेल्स बढुवा हुँदा १२ अंक बनाएको फिनल्यान्ड र तीन अंक बनाएको रिपब्लिक अफ आयरल्यान्ड भने नेसन्स लिगको ‘बी’ मै यथावत रहे। यता, ६ खेलबाट २ अंक मात्रै जोडेको बुल्गेरिया भने नेसन्स लिगको ‘सी’ मा घटुवा भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।