काठमाडौं–नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा (नेतृत्व चयनको महाधिवेसन) मा मतदान गर्न पाउने सदस्यको टुंगो लागेको छ।
महासंघको निर्वाचन कमिटिले प्रकाशन गरेको सूचीमा कसैको दाबी विरोध नपरेसँगै मतदाताको नामवाली टुंगो लागेको हो।
महासंघको निर्वाचनमा जिल्ला नगरतर्फका १ सय ७, वस्तुगततर्फ १ सय १, एसोसिएटतर्फको ९ सय २३ र द्विराष्ट्रियतर्फका १२ मतदाता रहने छन्।
यसैगरी महासंघको निर्वाचन कमिटीले निर्वाचनका लागि विभिन्न पदमा मनोनयन दर्ता गरेका उम्मेद्वारको पहिलो नामावली बिहीबार बेलुका ६ बजे प्रकाशन गर्ने भएको छ।
महासंघको ५४ औं साधारण सभामा व्यवसायीहरु २ समूहमा विभाजित छन्। एउटा समूहको नेतृत्व वरिष्ठ उपाध्यक्ष पदका उमेद्वार चन्द्रप्रसाद ढकाल र अर्को समूहको नेतृत्व किशोर प्रधानले गरेका छन्।
साधारण सभा यही मंसिर ११ गतेबाट ३ दिनसम्म काठमाडौंमा चल्ने छ। चैत २८ र २९ गतेका लागि तय भएको महाधिवेशन कोरोनाका कारण पटक–पटक स्थगित हुँदै मंसिरमा पुगेको हो।
महासंघको ५४ औं साधारण सभाबाट वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनेछन्। गोल्छा ५१ औंं साधारण सभाबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए।
सोही अनुरुप ५४ औं साधारणसभामा वरिष्ठ उपाध्यक्ष निर्वाचित हुने व्यक्ति बीचमा कुनै विधान संशोधन नभएको अवस्थामा ५७ औं साधारण सभाबाट स्वतः अध्यक्ष हुने छन। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएका कारण अहिले वरिष्ठ उपाध्यक्षका लागि व्यवसायीहरु २ समूहमा निर्वाचनको मैदानमा उत्रिएका छन।
महासंघको साधारणसभाले एक वरिष्ठ उपाध्यक्ष, एक एसोसिएट उपाध्यक्ष, एक वस्तुगत उपाध्यक्ष, एक जिल्ला नगर उपाध्यक्ष र ६० जना कार्यकारी सदस्य निर्वाचित गर्ने छ।
५४ औं साधारण सभाबाट चयन हुने पदाधिकारी तथा सदस्यको विवरण
- अध्यक्षः वर्तमान वरिष्ठ उपाध्यक्ष (शेखर गोल्छा) स्वतः अध्यक्ष
- वरिष्ठ उपाध्यक्षः १ जना
- उपाध्यक्ष–३ जना (जिल्ला नगर १, वस्तुगत १ र एसोसिएटबाट १)
- कार्यकारिणी सदस्यः ६० जना
- महासंघको प्रत्येक प्रदेशबाट १–१ जना गरी ७ जना
- उद्योग वाणिज्य संघको तर्फबाट–१८ जना
- वस्तुगत संघबाट–१४ जना
- एसोसिएट संघबाट –१९ जना
- द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट–१ जना
- महासंघको संस्थापकहरुबाट–१ जना
प्रतिस्पर्धामा को–को?
महासंघको ५४ औं साधारण सभाका लागि पदाधिकारीमा समूह बने पनि सदस्यका लागि भने समूह स्पष्ट खुलिसकेको छैन।
अध्यक्ष–शेखर गोल्छा (स्वत अध्यक्ष)
निर्वाचन हुने
- वरिष्ठ उपाध्यक्ष– किशोर प्रधान र चन्द्र ढकाल (एक जना)
- एसोसिएट उपाध्यक्ष– सौरभ ज्योति र रामचन्द्र संघाई (एक जना)
- वस्तुगत उपाध्यक्ष– अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ (एक जना)
- जिल्ला नगर उपाध्यक्ष– दिनेश श्रेष्ठ र गुणनिधि तिवारी (एक जना)
मतदाता कति?
महासंघको निर्वाचनमा कुल मतदान गर्न पाउने संघसंस्थाको संख्या ११४३ रहेको छ। जसमा जिल्ला नगरतर्फ १ सय ७ संघ, वस्तुगत तर्फ १ सय१, एसोसिएटतर्फ ९ सय २३ र द्वराष्ट्रियतर्फ १२ संघका प्रतिनिधि रहनेछन्।
वरिष्ठ उपाध्यक्षका लागि सबै संघ संस्थाका प्रतिनिधिले भोट दिन पाउने छन। अन्य पदका लागि भने सोहीतर्फका प्रतिनिधिले मात्रै भोट दिने पाउने व्यवस्था छ।
साथै महासंघको निर्वाचनमा जिल्ला नगरतर्फको मतलाई कुल मतको ५० प्रतिशत, वस्तुगततर्फको मतलाई २० र एसोसिएटतर्फको मतलाई ३० प्रतिशत मतभार कायम गरिएको छ। जसले सबैतर्फबाट गरी ५१ प्रतिशत मत पाउछन्, उनै वरिष्ठ उपाध्यक्षमा विजयी हुन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।