काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लबमा देखिएका हरेक समस्यामा आफैलाई दोषी मानेर कुराहरु आइरहँदा त्यसबाट आजित भएको बताएका छन्।
पछिल्लो समय एन्टोनियो ग्रिजम्यान लयमा नदेखिँदा केहीले मेस्सीमाथि दोष देखाएका थिए। ग्रिजम्यानका पूर्व एजेन्ट इरिक ओलहाट्सले गएको हप्ता मेस्सीकै कारण ग्रिजम्यानको समय मुस्किल भइरहेको प्रतिक्रिया दिएका थिए। क्लबमा मेस्सीका निर्णयहरु चल्ने र त्यसले अरुलाई असर गर्ने आरोप इरिकले लगाएका थिए।
‘एन्टोनियो बार्सिलोनामा जाँदा त्यहाँ जटिल समस्याहरु नै चलिरहेको थियो, जहाँ धेरै कुरा मेस्सीको नियन्त्रणमा थियो। बार्सिलोनामा मेस्सी सत्ता र सम्राट हुन्। उनी एन्टोनियोको आगमनमा खुशी थिएनन्’ इरिकले फ्रान्स फुटबल म्यागेजिनलाई भनेका थिए।
त्यसैको खन्डनमा मेस्सीले क्लबमा देखिएका समस्यामा सधैँ आफूलाई दोष आइरहँदा आजित भएको बताएका छन्। अर्जेन्टिना राष्ट्रिय विश्वकप छनोटका खेल खेल्न गएका मेस्सीले विमानस्थलमा यस्तो प्रतिक्रिया दिएका हुन्। ‘सधैँ क्लबमा देखिएका हरेक समस्यामा दोषी मानिदिँदा आजित भइसकेको छु’ मेस्सीले भनेका छन्।
क्लबमा प्रशिक्षक राख्ने र फाल्नेदेखि अन्य विषयको निर्णयमा समेत मेस्सीको प्रभाव रहने भन्दै बेलाबखत आलोचना हुने गर्छ। जसमा कुनै सत्यता नरहेको यसअघि पनि मेस्सीले सार्वजनिक रुपमा बोलेका थिए। नयाँ सिजन सुरु हुनुअघि बार्सिलोना छाड्ने असफल प्रयासपछि पनि मेस्सी खुलेर बोलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।