काठमाडौं– इटाली नेसन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा इटालीले बोसनियालाई २–० गोलअन्तरले पराजित गरेको छ।
घरेलु टिम बोसनियाविरुद्ध इटालीका एन्ड्रिया बेलोटी र डोमेनिको बेलार्डीले गोल गरे। पहिलो हाफमा एक गोल गरेको इटालीले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो। खेलको २२ औं मिनेटमा बेलोटीले गोल गरेका थिए। खेलको ६८ औं मिनेटमा डोमेनिकोले गोल गर्दै २–० गोलको जित दिलाए।
त्यस्तै, नेसन्स लिग ए अन्तर्गत समूह ‘ए’ कै अर्को खेलमा नेदरल्यान्ड्सले पोल्यान्डलाई २–१ गोलअन्तरले पराजित गरेको छ। घरेलु टिम पोल्यान्डविरुद्ध नेदरल्यान्ड्सले जित निकालेपनि इटालीसँग एक अंकले पछि पर्दै नेसन्स लिगबाट बाहिरियो। इटाली बोसनियासँग हारेको भए नेदरल्यान्ड्स सेमिफाइनलमा पुग्ने थियो। तर इटालीले जित निकालेपछि नेदरल्यान्ड्स आफू जितेरपनि नेसन्स लिगबाट बाहिरिएको हो।
६ खेलबाट १२ अंक बनाएको इटाली शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुग्दा दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्सको ६ खेलबाट ११ अंक छ। त्यस्तै पोल्यान्डको ७ अंक हुँदा बोसनियाले २ अंक मै नेसन्स लिग सकायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।