काठमाडौं– बेल्जियमले डेनमार्कलाई पराजित गर्दै नेसन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा बेल्जियमले डेनमार्कलाई ४–२ गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम बेल्जियमको जितमा रोमेलु लुकाकुले दुई गोल गर्दा, योउरी टिलेमन्स र केभिन डे ब्रुयनले १–१ गोल गरे। त्यस्तै, डेनमार्कका लागि जोनास ओल्डर विन्डले गोल गरे। एक गोल भने उपाहार स्वरुप पाएको थियो।
खेलको तेस्रो मिनेटमा नै टिलेमन्सले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए। तर खेलको १७ औं मिनेटमा जोनासले गोल गर्दै डेनमार्कलाई पहिलो हाफसम्म १–१ गोलको बराबरी दिलाए। खेलको ५७ औं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई २–१ गोलको अग्रता दिलाए। ६९ औं मिनेटमा फेरि उनले नै गोल थप्दा बेल्जियमले ३–१ गोलको अग्रता बनायो।
खेलको ८६ औं मिनेटमा भने बेल्जियमले आत्मघाती गोल खान पुग्यो। बेल्जियमका नासिर चाडलीले आत्मघाती गोल गरेपछि डेनमार्कले ३–२ गोलको स्थितिमा ल्याएको थियो। तर केभिनले ८७ औं मिनेटमा गोल गरेपछि बेल्जियम ४–२ गोलले विजयी भयो।
समूह ‘सी’ को शीर्ष स्थानमा रहेको बेल्जियमले ६ खेलबाट १५ अंक बनाउँदै नेसन्स लिगको सेमिफाइनलमा छनोट भएको हो। डेनमार्क भने बेल्जियमसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।