स्वास्थ्य प्रवक्ता डा जागेश्वर गौतम।
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टिबायोटिक जथाभावी प्रयोग नगर्न आग्रह गरेको छ। चिकित्सकको सल्लाह बिना एन्टिबायोटिक औषधिको प्रयोग गर्नु हानीकारक हुने भन्दै मन्त्रालयले सबैलाई सचेत गराएको हो। मात्रा नमिलाई एन्टिबायोटिक औषधिको प्रयोग गर्नाले हानी हुने भन्दै ब्याक्टेरियाविरुद्ध स्वास्थ्यकर्मीको सिफारिसर र सल्लाहमा मात्र एन्टिबायोटिक औषधि प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतममले ‘एन्टिमाइक्रोबिएल सचेतना सप्ताह’ पारेर एन्टिबायोटिक ब्याक्टेरियाका विरुद्धमात्र प्रयोग हुने हुँदा यस्ता औषधिले भाइरसका विरुद्ध काम गर्न नसक्ने भन्दै प्रयोगशाला परीक्षणबाट भाइरसबाट भएको हो कि ब्याक्टेरियाबाट भएको हो भनेर एकिन गरेर मात्र औषधिको प्रयोग गर्न अनुरोध गरेका छन्।
‘कोभिड १९ संक्रमण भाइरसका कारण हुने हुदा कोभिड१९ को उपचारमा पनि एन्टिबायोटिकले काम गर्न सक्दैनन्। यस्तो अवस्थामा एन्टिबायोटिकको अनुचित प्रयोग गर्दा एन्टिबायोटिक प्रतिरोधको जोखिमलाई झन बढाउँछ। भविष्यमा सामान्य खालको संक्रमण हुँदाको अवस्थामा निको नहुने र मानिसहरु झन जोखिममा पर्ने सम्भावना रहन्छ,’ उनले भने।
यो वर्षको नारा ‘एन्टिमाइक्रोबिएल अर्थात एन्टिबायोटिक औैषधिहरु सावधानीका साथ प्रयोग गरौँ’ भन्ने रहेको छ। १८ नोभेम्बर देखि २४ नोभेम्बरसम्म विश्वभर नै विभिन्न कार्यक्रम गरी सचेतना सप्ताह मनाइँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।