काठमाडौं– लुटपाट घटनाका दोषीलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले लुटपाटमा संलग्न रही फरार भएका मकवानपुरको हेटौडा उपमहानगरपालिका–७ का नासोतीका ३९ वर्षीय जगन्नाथ ढकाल पक्राउ परेका हुन्।
ढकालसहितको समूहले २०६१ असोज ७ गते काठमाडौं जडिबुटीमा लुटपाट गरेको थियो । बनेपाबाट बा १६ प ६८२१ नम्बरको मोटरसाइकलमा काठमाडौं आउँदै गरेका नारायण खनाललाई ढकालको समूहले नियन्त्रणमा लिएर लुटपाट गरेको थियो। ५ जनाको समूहले आफूहरु सुरक्षाकर्मी भएको बताउँदै लुटपाट गरेका थिए। बोल्न कराउन नमिल्ने गरी मुखमा टेप लगाएर भ्यान भित्र राखी एकान्त ठाउँमा लगेर उनीहरुले लुटपाट गरेका थिए।
अनुसन्धानका क्रममा लुटपाटमा ११ जनाको संलग्नता रहेको खुलेको थियो। ढकालको साथमा रहेको १० लाख २५ हजार र विभिन्न धनमाल गरी ११ लाख ६ ३ हजार ९ सय रुपैयाँ बराबरको धनामाल लुटपाट गरेका थिए। त्यसपछि फरार रहेका ढकाललाई अपराध महाशाखा र इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो।
२०६४ भदौ ६ गते ढकाललाई पुनरावेदन अदालत पाटनले ६ वर्ष कैद र १ लाख ९६ हजार ६ सय ५० रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।