तनहुँ- तनहुँको व्यास नगरपालिका– ५ मानहुँकोट जाँदै गरेको माइक्रोबस बुधबार बिहान साढे ५ बजेतिर भिरबाट खस्दा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।
मृत्यु हुनेमा पोखरा महानगरपालिका–३२ की २९ वर्षीया सुनीता गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए।
१६ जनाजति यात्रु बोकेर पोखराबाट आएको ग१ख २९४२ नम्बरको माइक्रोबस मानहुँकोट उकालोमा दुर्घटनाग्रस्त भएको हो। उकालोमा तान्न नसकेपछि केही यात्रु झरेर गाडी धकेल्न खोज्दा ‘ब्याक’ गएर भिरबाट खसेको तिमिल्सिनाले बताए । घाइते ९ जनामध्ये सुनीताको उपचारका क्रममा दमौलीस्थित रत्नहरी अस्पतालमा मृत्यु भएको हो।
सात जनालाई सामान्य उपचारपछि घर पठाइएको र एक जनालाई पोखरास्थित मणिपाल अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ। पछिल्लो समय मानहुँकोट आउने आन्तरिक पर्यटकको संख्या बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।