खुलामञ्चमा निशुल्क भोजन वितरण गरिँदै। फाइल तस्बिर
काठमाडौं- काठमाडौं महानगरपालिकाले ठाउँको व्यवस्थापन गरिदिएपछि खुलामञ्चमा सञ्चालन हुँदै आएको निःशुल्क खाना खुवाउने अभियानलाई थापाथलीस्थित प्रसूति गृह पछाडि सारिएको छ।
खुलामञ्चमा खाना खुवाउँदा धुवाँधुलो हुने र यसबाट कोभिड १९ संक्रमणको जोखिम मात्र नभएर अन्य रोगको समेत सम्भावना भएको भन्दै महानगरपालिकाले मंसिर २ गतेदेखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भनेको थियो। तर मानिसहरु खाना खानका लागि लामबद्ध भएपछि हाम्रो टिम नेपालले मंगलबार पनि खुलामञ्चमा नै खाना खुवाएको थियो। त्यसपछि भने महानगरपालिकाले वैकल्पिक ठाउँ दिएको हो।
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको पछाडिपट्टि रहेको खुला ठाउँ उपलब्ध गराएपछि बुधबारदेखि सोही ठाउँमा निःशुल्क खाना खुवाउन लागिएको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताए। नयाँ ठाउँमा शौचालय, खानेपानी, फोहोर फाल्ने ठाउँलगायतका पूर्वाधार निर्माण महानगरपालिकाले गरिदिने सम्झौता भएको पनि अध्यक्ष पन्तले बताए। उनले काम नपाएर भोकै बस्नुपर्ने स्थिति आएमा प्रत्येक दिन बिहान ९ बजे थापाथलीस्थित व्यवस्था गरिएको ठाउँमा खाना खान आउन समेत आग्रह गरे।
काठमाडौं महानगरपालिकाले सार्वजनिक यातायात सुचारु भएको अवस्थामा सार्वजनिक स्थलहरुमा भिडभाड हुने गरी खाना खुवाउँदा स्वास्थ्य मापदण्ड कार्यान्वयनमा जटिलता पैदा भएको भन्दै वैकल्पिक व्यवस्थाका लागि पहल गरिएको बताएको छ।
महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाले असाहय अशक्तलाई भोजन गराउने संघ संस्थाकै अनुमतिमा महानगरपालिकाको पहलमा नयाँ ठाउँको व्यवस्था गरिएको बताइन्।
स्वास्थ्य जोखिम, संक्रमणको सम्भावना र सामाजिक प्रतिष्ठा तथा मानव अधिकारको संरक्षण गर्ने हेतुले सार्वजनिक स्थल, खुला क्षेत्रमा भोजन सेवा बन्द गरी बैकल्पिक स्थानमा भोजन गराउने नीति अनुसार नयाँ ठाउँको व्यवस्था गरिएको उनले उल्लेख गरे। निःशुल्क भोजन गराउने स्थानमा शौचालय, पानी सहितको संरचना निर्माण महानगरपालिकाले गरिदिने पनि सापकोटाको भनाइ छ।
यसबाहेक काठमाडौं महानगरपालिकाले काम गर्न सक्नेहरूका लागि हप्तामा दुई दिन काम दिने व्यवस्था गरेको पनि नगर प्रहरी प्रमुध सापकोटाले उल्लेख गरे। त्यसका लागि आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न उहाँको आग्रह छ। काम गर्न सक्नेका लागि काम दिने र नसक्ने लाई निःशुल्क खाना खान खुवाउने नीति महानगरपालिकाले लिएको पनि सापकोटाले स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।