काठमाडौं– डिफेन्डिङ च्याम्पियन पोर्चुगल नेसन्स लिग फुटबलबाट बाहिरिएको छ। मंगलबार राति भएको खेलमा क्रोसियालाई ३–२ गोलअन्तरले पराजित गरेपनि पोर्चुगल समूह चरणबाटै बाहिरिएको हो।
घरेलु टिम क्रोसियाविरुद्धको जितमा पोर्चुगलका रुबेन डियासले दुई र जोआओ फिलेक्सले एक गोल गरे। क्रोसियाका लागि माटेओ कोभासिकले दुई गोल फर्काए। १० खेलाडीमा सीमित भएको क्रोसियाविरुद्ध पोर्चुगल पहिलो हाफमा नै १–० गोलले पछि परेको थियो। खेलको २९ औं मिनेटमा कोभासिकले गोल गर्दै क्रोसियालाई १–० गोलको अग्रता दिलाएका थिए।
खेलको ५१ औं मिनेटमा क्रोसियाका मार्को रोगले दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा झरेको थियो। त्यसको एक मिनेटपछि अर्थात खेलको ५२ औं मिनेटमा रुबेन डियासले गोल गर्दै पोर्चुगललाई १–१ गोलको बराबरी दिलाए। खेलको ६० औं मिनेटमा जोआओ फिलेक्सले गोल गर्दै पोर्चुगललाई २–१ गोलको अग्रता दिलाए। तर खेलको ६५ औं मिनेटमा कोभासिकले गोल गर्दै क्रोसियालाई २–२ गोलको बराबरी दिलाए। खेलको ९० औं मिनेटमा रुबेन डियासले गोल गर्दै पोर्चुगललाई ३–२ गोलको जित दिलाए।
क्रोसियालाई पराजित गरेपनि फ्रान्सले स्वीडेनलाई पराजित गरेपछि डिफेन्डिङ च्याम्पियन पोर्चुगल समूह चरणबाटै बाहिरिएको हो। पोर्चुगलले ६ खेलबाट चार खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हार ब्यहोर्दै १३ अंक बनाएको छ। फ्रान्सले भने १६ अंक बनाएर नेसन्स लिगको सेमिफाइनलमा स्थान बनायो। पोर्चुगलसँग पराजित भएको क्रोसियाले ६ खेलबाट तीन अंक मात्रै बनाउन सक्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।