काठमाडौं–फ्रान्स नेसन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा फ्रान्सले स्वीडेनलाई ४–२ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।
घरेलु टिम फ्रान्सको जितमा ओलिभर जिराडले दुई गोल गर्दा बेन्जामिन पाभार्ड र किंग्सले कोमानले गोल गरे। यता, स्वीडेनका लागि भिक्टर क्लासन र रोविन क्वाइसनले १–१ गोल गरे। चौथो मिनेटमा नै पछि परेको फ्रान्सले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो। स्वीडेनका भिक्टरले गोल गर्दै १–० गोलको अग्रता दिलाए। तर खेलको १६ औं मिनेटमा नै ओलिभरले गोल गर्दै फ्रान्सलाई १–१ गोलको बराबरी दिलाए।
खेलको ३६ औं मिनेटमा बेन्जामिन पाभार्डले गोल गर्दै फ्रान्सलाई पहिलो हाफसम्म २–१ गोलको अग्रता दिलाए। खेलको ५९ औं मिनेटमा ओलिभरले गोल गर्दै फ्रान्सलाई ३–१ गोलको अग्रता दिलाए। ८८ औं मिनेटमा रोविनले गोल गर्दै स्वीडेनलाई ३–२ गोलको स्थितिमा पुर्याएपनि अतिरिक्त समयमा कोमानले गोल गर्दै फ्रान्सलाई ४–२ गोलको जित दिलाए।
६ खेलमध्ये पाँच खेलमा जित र एक खेलमा बराबरी खेलेको फ्रान्सले १६ अंक बनाउँदै नेसन्स लिगको सेमिफाइनलमा स्थान बनाएको हो। पराजित स्वीडेनले भने ६ खेलबाट तीन अंक बनाएर नेसन्स लिग सकायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।