काठमाडौं– स्पेनले नेसन्स लिग फुटबलमा जर्मनीलाई फराकिलो गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
घरेलु टिम स्पेनले जर्मनीलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो। बराबरी खेलेको भए पनि जर्मनी नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गर्ने थियो। तर जर्मनीले स्पेनसँग आधा दर्जन गोल खायो। स्पेनका लागि फेरान टोरेसले ह्याट्रिक गोल गरे। त्यस्तै, अल्भारो मोरटा, रोड्री र माइकल ओयारजाबालले समान १–१ गोल गरे।
खेलको १७ औं मिनेटमा मोरटाले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाए। खेलको ३३ औं मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई २–० गोलको अग्रता दिलाए। ३८ औं मिनेटमा रोड्रीले गोल गर्दा स्पेनले ३–० गोलको अग्रता लियो।
स्पेनविरुद्ध जर्मनी सुरुवातदेखि नै दबाबमा आयो। पहिलो हाफमा तीन गोल गरेको स्पेनले दोस्रो हाफमा थप तीन गोल गर्दै फराकिलो जित निकालेको हो। ५५ औं मिनेटमा टोरेसले अर्को गोल गर्दै स्पेनलाई ४–० गोलको अग्रता दिलाए। उनले ७१ औं मिनेटमा अर्को गोल थप्दै ह्याट्रिक पूरा गरे। उनको गोलसँगै स्पेन ५–० गोलको अग्रतामा पुगेको थियो भने माइकलले ८९ औं मिनेटमा गोल गर्दै स्पेनलाई ६–० गोलको फराकिलो जित दिलाए।
यो जितसँगै नेसन्स लिगको ‘ए’ अन्तर्गत समूह ‘डी’ को शीर्ष स्थानमा उक्लिएको स्पेनले ६ खेलमध्ये तीन खेलमा जित, दुईमा बराबरी र एक खेलमा हारसहित ११ अंक बनाएर सेमिफाइनलमा पुगेको हो। पराजित जर्मनीको भने दुई खेलमा जित, तीन खेलमा बराबरी र एक खेलमा हारसहित ९ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।