काठमाडौं- काठमाडौं महानगरपालिकाले मंसिर २ (आज)देखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भनेपनि हाम्रो टिम नेपालले खुलामञ्चमा नै खाना खुवाएको छ। कोभिड-१९ संक्रमणको जोखिमलाई मध्यनजर गरी खुलामञ्चमा खाना नखुवाउने भनिएपनि मानिसहरु लामबद्ध भएर बसेपछि खाना खुवाउन बाध्य भएको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले जानकारी दिए।
महानगरपालिकाले मंसिर २ गतेदेखि खुलामञ्चमा भेला गराएर नभई कुनै पनि ठाउँमा व्यवस्थित गरी खाना खुवाउन हाम्रो टिम नेपालसँग आग्रह गरेको थियो।सोहीअनुसार मंगलबारदेखि खुलामञ्चमा खाना नखुवाउने सम्झौता पनि भएको थियो। तर खाना खुवाउनको लागि उचित ठाउँको व्यवस्था गर्न नसकिएकाले फेरि पनि खुलामञ्चमा नै खाना खुवाउन आफूहरु बाध्य भएको हाम्रो टिमका पन्तले बताए।
'प्याकेटमा खाना वितरण गर्न खोजेको भएपनि मानिसहरु खुलामञ्चमा नै लामबद्ध भएर बसेपछि पुरानै तरिकाले खाना वितरण गर्न बाध्य भएका छौं,' उनले भने। महानगरले व्यवस्थित ठाउँको प्रबन्ध गर्ने भनेपनि कुनै पनि प्रबन्ध नभएको उनको भनाइ छ।
खाना खान आउने मानिसहरु भने खुलामञ्चमा खाना वितरण गर्ने कार्यलाई महानगरपालिकाले रोक्न निर्देशन दिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनीहरुले 'कि काम देऊ, होइन भने खान देऊ' भन्दै खाना खुवाउने कार्यक्रमलाई नरोक्न माग गरेका छन्।
कोरोना महामारीका कारण काम नपाएर भोकै बस्नुपर्ने बाध्यता भएपछि खुलामञ्च आई निःशुल्क वितरण गरिएको खाना खान बाध्य भएको बताएका छन्। सडकमा बसेर खाना खान आफुहरुको रहर नभई बाध्यता भएको पनि उनीहरुले बताए।
हाम्रो टlम नेपालले गत चैत ११ गतेदेखि लकडाउन भएपछि खान खान नपाएर समस्यामा परका व्यक्तिहरुलाई चैत १४ गतेदेखि खाना खुवाउँदै आएको छ। सुरुमा उपत्यकाका विभिन्न ठाउँमा खाना वितरण गर्दै आएको यो समूहले पछिल्लो समय खुलामञ्चमा निःशुल्क खाना खुवाउने काम गर्दै आएको छ।
काठमाडौं महानगरपालिकाले भने अव्यवस्थित रुपमा खाना खुवाउँदा संक्रमण फैलने डर भएको भन्दै खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न आग्रह गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।