काठमाडौं- चालु आर्थिक वर्षको पहिलो चार महिनामा ८.३४ प्रतिशत पुँजीगत खर्च भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार साउनदेखि कात्तिक मसान्तसम्मको अवधिमा २९ अर्ब ४४ करोड रूपैयाँ पुँजीगत खर्च भएको छ।
सरकारले चालु आर्थिक वर्षमा ३ खर्ब ५२ अर्ब रूपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्यसहित बजेट ल्याएको थियो।
यसैगरी यो अवधिमा २४.२५ प्रतिशत चालु खर्च भएको छ। कूल ९ खर्ब ४८ अर्ब रूपैयाँ चालु खर्च गर्ने लक्ष्यसहित बजेट ल्याइएकोमा पहिलो चौमासिकमा करिब एक चौथाइ अर्थात् २ खर्ब ३० अर्ब रूपैयाँ चालु खर्च भएको छ।
यसैगरी पहिलो चौमासिक अवधिमा वित्तीय व्यवस्थातर्फ विनियोजित १ खर्ब ७२ अर्ब रूपैयाँको ५.५ प्रतिशत खर्च भएको छ। अहिलेसम्म वित्तीय व्यवस्थातर्फ ९ अर्ब ५० करोड रूपैयाँ खर्च भएको कार्यालयले जनाएको छ।
राजस्व संकलनतर्फ पहिलो चौमासिक अवधिमा लक्ष्यको २३.७४ प्रतिशत उपलब्धि भएको छ। अहिलेसम्म कर राजस्व २ खर्ब २६ अर्ब र गैरकर राजस्व १४ अर्ब ११ करोड रूपैयाँ संकलन भएको छ। सरकारले ५ अर्ब रूपैयाँ अनुदान पाएको छ भने २४ अर्ब ५२ करोड रूपैयाँ अन्य प्राप्ति गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।