दाङ- तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरी निवासी सञ्चारकर्मी मनिषा लामिछानेको सवारी दुर्घटनामा परी सोमबार अपराह्न मृत्यु भएको छ।
बिजौरीबाट आफू कार्यरत रेडियो हाम्रो पहुँचमा आउँदै गरेको रा १ प ६७२१ नम्बरको मोटरसाइकललाई तुलसीपुरको गुल्म चोकमा लु अ क ३९४६ नम्बरको स्कार्पिओ गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक विराज लामिछाने र उनकी बहिनी मनिषा घाइते भएका थिए।
दुवैलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएको थियो। मनिषाको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।
मनिषा दाङको तुलसीपुरबाट प्रसारण हुने रेडियो हाम्रो पहुँचमा सहायक प्राविधिक पदमा कार्यरत हुनुहुन्थ्यो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले ठक्कर दिने गाडी र चालक अहिले नियन्त्रणमा रहेको बताए।
घाइते विराजको भने कोहलपुरमै उपचार भइरहेको बताइएको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।