काठमाडौं– इटालीले नेसन्स लिग फुटबलमा जित हात पारेको छ। आइतबार राति भएको खेलमा इटालीले पोल्यान्डलाई २–० गोलअन्तरले पराजित गरेको हो।
घरेलु टोली इटालीका लागि जोर्गिन्हो र डोमेनिको बेरार्डीले गोल गरे। खेलको २७ औं मिनेटमा पेनाल्टीबाट जोर्गिन्होले गोल गर्दै अग्रता दिलाए। पहिलो हाफमा एक गोलको अग्रता बनाएको इटालीले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकाल्यो। खेलको ७७ औं मिनेटमा ज्यासिक गोरास्कीले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पोल्यान्ड १० खेलाडीमा सीमित भयो। खेलको ८३ औं मिनेटमा डोमेनिकोले गोल गर्दै इटालीलाई २–० गोलको जित दिलाए।
त्यस्तै, अर्को खेलमा नेदरल्यान्ड्सले बोस्नियालाई ३–१ गोलअन्तरले पराजित गरेको छ। अन्य खेलमा वेल्सले आयरल्यान्डलाई १–० गोलअन्तरले पराजित गर्दा फिनल्यान्डले बुल्गेरियालाई २–१ ले, अस्ट्रियाले नर्थन आयरल्यान्डलाई २–१ ले नै पराजित गर्दा मोल्डोभालाई ग्रिसले २–० गोलले पराजित गरेको छ।
पाँच खेलमध्ये दुई खेलमा जित र तीन खेलमा बराबरी खेलेको इटालीले ९ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्सको पनि पाँच खेलबाट आठ अंक छ। तेस्रो स्थानमा रहेको पोल्यान्डको सात अंक हुँदा चौथो स्थानमा रहेको बोस्नियाको दुई अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।