काठमाडौं– बेल्जियमले नेसन्स लिग फुटबलमा जित निकालेको छ। आइतबार राति भएको खेलमा बेल्जियमले इंग्ल्यान्डलाई २–० गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम बेल्जियमको जितमा यउरी टिलेमन्स र ड्राइस मेर्टेन्सले गोल गरे। खेल अवधिभर बल नियन्त्रणमा राखेपनि इंग्ल्यान्डले गोल गर्न नसक्दा बेल्जियमसँग हार व्यहोर्यो। खेलको १० औं मिनेटमा नै टिलेमन्सले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए। खेलको २३ औं मिनेटमा मेर्टेन्सले गोल गरेपछि बेल्जियमले २–० गोलको अग्रता बनायो।
पहिलो हाफमा नै २–० गोलको अग्रता बनाएको बेल्जियमले दोस्रो हाफमा इंग्ल्यान्डलाई रोक्दै जित निकाल्यो।
त्यस्तै, आइतबार राति नै नेसन्स लिगअन्तर्गत ‘ए’ को ‘बी’ समूहमा भएको खेलमा डेनमार्कले आइसल्यान्डलाई २–१ गोलअन्तरले पराजित गरेको छ। डेनमार्कका लागि क्रिस्टियन इरिकसेनले दुई गोल गर्दा आइसल्यान्डका भिओर जार्टनसनले एक गोल गरे।
शीर्ष स्थानमा रहेको बेल्जियमले जितसँगै पाँच खेलबाट १२ अंक बनाएको छ। पराजित इंग्ल्यान्डको भने पाँच खेलबाट सात अंक मात्रै छ। दोस्रो स्थानमा रहेको डेनमार्कको पाँच खेलबाट १० अंक बनाउँदा चौथो स्थानमा रहेको आइसल्यान्ड अंकविहीन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।