लन्डन– इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडका पूर्व–म्यानेजर सर एलेक्स फर्गुसनलाई मस्तिष्कमा रक्तस्राव(ब्रेन ह्यामरेज) भएपछि शनिबार अचानक शल्यक्रिया गरिएको छ।
म्यानचेस्टर युनाइटेडले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘फर्गुसनको उपचार निकै राम्रोसँग भइरहेको छ। तर उनको स्वास्थ्यमा छिटो सुधार हुन केहि समयसम्म सघन स्वास्थ्य हेरचाहको आवश्यकता छ।’
स्कटल्यान्डका नागरिक फर्गुसनले सन् १९८६ देखि २०१३ सम्म युनाइटेडको म्यानेजरको भूमिका निर्वाह गरेका थिए। २६ वर्ष लामो करियरबाट रिटायर्ड हुनुअघि ७६ वर्षीय फर्गुसनले म्यानचेस्टर युनाइटेडलाई महत्वपूर्ण ३८ उपाधि दिलाएका थिए।

गत आइतबार मात्रै कोमिमोरेटिभ कपको दौरानमा वल्र्ड ट्राफोड मैदानमा उनी आर्सनल म्यानेजर आर्सेन वेन्गरसँगै देखिएका थिए।
सालफोर्ड रोयल अस्पतालमा भर्ना गरिएका फार्गुसनको स्पास्थ्यमा सुधार नहुन्जेल उपचारको बारेमा गोपनियता कायम गरिदिन उनका परिवारले आग्रह गरेका छन्।
म्यानचेस्टर युनाइटेडले ट्विटमा लेखेको छ,‘यो समयमा सर फर्गुसन र उनका प्रशंषकका बारेमा हामीले सोचिरहेका छौं, र हामी उनको शिघ्र स्वास्थ्य लाभ भएको हेर्न चाहिरहेका छौं।’

बेलायती खेलकुदमा सर्वाधिक सफल म्यानेजर मानिने फर्गुसनले वल्र्ड ट्राफोडमा १३ पटक प्रिमियर लिग, २ पटक च्याम्पियन्स लिग, ५ पटक एफए कप तथा ४ पटक लिग कपको उपाधि भित्राएका छन्। सन् १९९९ मा प्रिमियर लिग, च्याम्पियन्स लिग तथा एफए कप तिन वटै उपाधि दिलाउँदा उनको चर्चा चुलिएको थियो।
१६ वर्षको उमेरदेखि स्कटिस क्लव क्विन्स पार्कबाट आफ्नो खेल जिवन सुरु गरेका फर्गुसनले सन् १९७४ मा सक्रिय खेल जिवनबाट सन्यास लिएका थिए। रेन्जर्सबाट सन् १९६७ पछि खेलेका २ वर्ष उनको खेल जीवनको सबैभन्दा सफल समयको रुपमा लिइन्छ।

म्यानचेस्टर युनाइटेडका कप्तान मिचेल कारिकले आफ्नो टिमका पूर्वम्यानेजरको आपतकालीन शल्यक्रियाको खबरले आफुँ दुःखी भएको बताएका छन्। ट्विटमा कारिकले शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्।
यसका अलावा विश्व फुटबलका अन्य हस्तीहरु क्रिस्टियानो रोनाल्डो, जेसी लिंगार्ड, लुक साओ, भिनसेन्ट कोम्पनी, डेभिड डि गिया, थिएरे हेनरी, वायन रोनी, लुकाकु, माइकल भान, डेभिड बेकह्याम तथा विभिन्न क्लब र फुटबल प्रशंषकहरुले उनको शिघ्र स्वास्थ लाभको कामना गर्दै सामाजिक सञ्जालहरुमा स्टाटस पोष्ट गरेका छन्।
फर्गुसन सन् १९६६ मा क्याथेसँग विवाह बन्धनमा बाँधिएका थिए। उनका छोरा ड्यारेनले हाल फुटबल क्लब डोनकास्टर रोभर्स सम्हालिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।