काठमाडौं– घरेलु टिम स्वीट्जरल्यान्डले नेसन्स लिग फुटबलमा स्पेनसँग १–१ गोलको बराबरी खेलेको छ। स्वीट्जरल्यान्डले स्पेनसँग उत्कृष्ट खेल्दै अंक बाँडेको हो।
शनिबार राति नेसन्स लिगको ‘ए’ अन्तर्गत समूह ‘डी’ को खेलमा १० खेलाडीमा सीमित बनेको स्वीट्जरल्यान्डलाई स्पेनले हराउन सकेन। कप्तान सर्जियो रामोसले दुई पटक पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा स्पेनले बराबरीमा चिक्त बुझाउनु पर्यो। खेलको २६ औं मिनेटमा रेमो फ्रेउलरले गोल गर्दै स्वीट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाए।
पहिलो हाफमा १–० गोलको अग्रता बनाएको स्वीट्जरल्यान्डविरुद्ध स्पेनले खेलको ५७ औं मिनेटमा पेनाल्टी पायो। पेनाल्टी एरियामा स्वीट्रल्यान्डका रिकाड्रो रोड्रिगुएजले ह्यान्ड बल गरेका थिए। कप्तान रामोसले प्रहार गरेको पेनाल्टी गोलरक्षक यान सोमरले रोकेपछि १–१ गोलको बराबरी बनाउने मौका स्पेनले गुमायो।
खेलको ७९ औं मिनेटमा स्वीट्जरल्यान्ड १० खेलाडीमा सीमित भयो। निको इल्भेडीले पेनाल्टी एरियामा स्पेनका अल्भारो मोरटालाई फोउल गरेपछि उनी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए भने स्पेनले दोस्रो पटक पेनाल्टी पाएको थियो। पेनाल्टी प्रहार गर्न फेरि कप्तान रामोस नै आए। तर यो पटक पनि उनले प्रहार गरेको पेनाल्टी गोलमा परिणत हुन सकेन। फेरि बाधक बने स्वीट्जरल्यान्डका गोलकिपर सोमर। तर खेलको ८९ औं मिनेटमा जिरार्ड मोरेनोले गोल गर्दै स्पेनलाई १–१ गोलको बराबरी दिलाउँदै हारबाट बचाएका हुन्।
बराबरीसँगै शीर्ष स्थानमा यथावत रहने मौकालाई स्पेनले गुमाएको छ। शीर्ष स्थानमा जर्मनी उक्लिदा दोस्रो स्थानमा रहेको स्पेनको पाँच खेलबाट आठ अंक छ। चौथो स्थानमा रहेको स्वीट्जरल्यान्डको भने पाँच खेलबाट ३ अंक भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।