महेन्द्रनगर- जिल्लाकै भौगोलिकरूपले सबैभन्दा पिछडिएको कञ्चनपुरको लालझाडी गाउँपालिकाका स्थानीयबासीले वर्षौंदेखि दोदा नदी वारपार गर्न शुल्क तिर्नुपर्ने बाध्यता कायमै छ । दोदा नदीमा हिउँदका बेला पानीको बहाव कम हुँदा ट्युबबाट तरेर स्थानीयले गन्तव्यमा जानुपर्ने हुन्छ।
लालझाडी–४ का लोकेन्द्र रानाले दशकौँदेखि आफूहरु नदीमा पुल नबन्दा रकम तिरेर नदी वारपार गर्ने गरेको दुखेसो पोखे। ‘पहाडमा तुइन तरे झैँ हामीले पैसा तिरेर नदी तर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, ‘ट्युबमा मोटरसाइकलसहित वारपार गर्नु पर्दा एक पटकको २०० तिनुपर्छ।’
लोकेन्द्र जस्तै लालझाडीका प्रायः स्थानीयवासीले हिउँदमा यही समस्या भोग्नुपरेको छ तर राज्यको यसतर्फ ध्यान पुगेको छैन। ‘हिउँदमा नदीमा पानी कम हुन्छ, पानी कम भए पनि रु २०० तिरेर त जान सकिन्छ,’ रानाले‘ भने, ‘बर्खामा त बाढीले आवागमन नै ठप्प हुन्छ।’
यहाँको वाणी–देखतभुली–पर्सिया जोड्ने सडकखण्डअन्तर्गत दोदा नदीमा पक्की पुलको निमार्णमा भइरहेको ढिलासुस्तीका कारण झन समस्या भएको स्थानीयवासीको गुनासो छ। ‘लकडाउनले दैनिकी उत्तिकै अस्तव्यस्त बनेको छ,’ रानाले भने, ‘मजदुरीका लागि घर छोड्न लाग्दा पनि शुल्क तिनुपर्ने अवस्था आउँछ।’
दोदा नदीमा वारपार गर्न साइकलको २० र मोटरसाइकलको २०० रूपैयाँ तिर्नुपर्छ। गाउँपालिकाको पहुँच सार्वजनिक यातायातसित अझै जोडिएको छैन।
स्थानीय रामसाहेब रानाले गाउँमा बिरामी परेर एम्बुलेन्स बोलाउनु पर्दा निकै हैरानी हुने गरेको बताए। ‘रातिको समयमा कसैलाई अस्पताल लैजानु पर्यो भने निकै समस्या हुन्छ,’ उनले भने, ‘सडक सञ्जाल र पुलहरु नबन्दा पैसा तिरेर पनि सुविधा पाइरहेका छैनौं।’
त्यसैगरी लालझाडी–४ का भजना राना पनि बर्खामा आवागमन नै बन्द हुने गरेको बताउँछन्। ‘नदी पारपार गर्ने क्रममा विगतमा दुई÷तीन स्थानीयवासीले ज्यानसमेत गुमाइसके,’ उनले भने, ‘वारि घर पारि खेत हुनेको पनि समस्या नै छ।’
ट्युबमार्फत नदी तार्ने छेउमै निर्माणाधीन पक्की पुल अलपत्र छ। स्थानीय युवाले ट्युब सञ्चालनमा ल्याएर नदी तार्ने काम गर्दै आएका छन्। पक्की पुलको तीन पिलर मात्रै निर्माण भएको तर निमार्ण कार्य भने अझै अगाडि बढ्न सकेको छैन। पुल निर्माणका लागि २०७२ पुसमा २४ करोड ५३ लाख रूपैयाँमा निर्माण सम्झौता भए पनि पुलको आधा काम पनि भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।