काठमाडौं- शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जेष्ठ नागरिकको उपचार, संरक्षण र सामाजिक सुरक्षा लगायका सम्पूर्ण प्रबन्ध सरकारले गरिरहेको दाबी गरेका छन्। नुवाकोटको विदुर नगरपालिका-५ देवीघाटमा जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री मानन्धरले जेष्ठ नागरिक इतिहासका जिउँदा दस्तावेज उल्लेख गर्दै राज्यले सबै प्रबन्ध मिलाउने दाबी गरेका हुन्।
मन्त्री मानन्धरले जेष्ठ नागरिकको जीवनयापन सहज बनाउनका लागि आवश्यक सामाजिक सुरक्षा, स्वास्थ्य तथा अन्य प्रबन्ध राज्यले गरिरहेको र स्रोतले भ्याएसम्म थप सुविधा बढाउने तयारी गरिरहेको उनले उल्लेख गरे।
सरकार जनताको जीवन रक्षाका लागि क्रियाशील रहेको बताउँदै जनताको स्वास्थ्य सुरक्षाका लागि सबै प्रबन्ध गरिएको दाबी गरे। तर सरकारले नागरिकको जिउधनको सुरक्षाका लागि प्रभावकारी कदम नचालेको भन्दै व्यापक आलोचना भइरहेको छ।
मन्त्री मानन्धरले उपत्यकासँगै जोडिएका स्थानहरुमा नयाँ शहरको परिकल्पना गरेको बताउँदै नुवाकोट छिट्टै समृद्धिको केन्द्र बन्ने बताए। यस्तै चीनसँगको प्रमुख व्यापारिक नाका केरुङका कारण नुवाकोट चाँडै सम्वृद्धिको बाटोमा लम्कने उनको भनाइ छ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औं जन्मजयन्तीको अवसर पारेर देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानले आयोजना गरेको जेष्ठ नागरिक संरक्षण दिग्दर्शन २०७७ स्मारिका विमोचन कार्यक्रममा सहभागी हुन मन्त्री मानन्धर नुवाकोट पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।