काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भ्रष्टाचारीको संरक्षक भएकाेदेखि गुट चलाएकोसम्म आराेप लगाएका छन्। शुक्रबारको सचिवालय बैठकमा अलग्गै राजनीतिक प्रतिवेदन पेस गर्दै दाहालले प्रधानमन्त्रीमाथि यस्ताे आराेप लगाएका हुन्।
दाहालले वाईडबडी विमान खरिद काण्ड, सञ्चारमन्त्रीकाे घुस डिल, यति समूह र ओम्नीसम्मकाे भ्रष्टचारमा पारदर्शी छानबिन भन्दा ढाकछाेपमा लागेकाे ओलीमाथि आराेप लगाएका छन्।
सार्वभाैम जनता र स्वाभिवान विपरित रअ प्रमुखलाई बालुवाटरमा भेटेकाे आरोपसमेत प्रचण्डको छ। उनले पार्टी चलाउने कुरामा पनि ओलीले गुटबन्दी गरेकाे दाबी गरेका छन्।
मदनभण्डारी फाउन्डेसनकाे नाममा समानान्तर पार्टी चलाउने अभ्यास ओलीले गरेकाे आराेप दाहालको छ।
राजनितिक नियुक्तिमा पनि उनले पार्टीभन्दा आफू निकट र स्वार्थ समूहलाई मात्र नियुक्त गरेकाे आराेप प्रचण्डको छ।
प्रतिवेदनमा काेराेना नियन्त्रणमा पनि सरकार असफल हुनुकाे कारण सरकार सञ्चालनकाे शैली गलत भएकाे उनकाे आराेप थियाे। कम्युनिस्ट सरकारकाे समयमा पनि समाजवाद उन्मुख र जनताकाे सरकार हुन नसकेकाे उनकाे टिप्पणी छ।
प्रतिवेदनमा प्रचण्डले पार्टीमा अहिले देखिएको समस्याको प्रमुख जिम्मेवार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली भएको टिप्पणी गरेका छन्।
वस्तुतः, अन्ततः र मुख्यतः पार्टी र सरकारको उपरोक्त स्थितिका लागि पार्टी र सरकार दुवैको मुख्य नेतृत्वमा रहेका कमरेड केपी शर्मा ओलीका व्यक्तिवादी, गुटवादी र एकाधिकारवादी सोच र कार्यशैली प्रमुख रुपमा जिम्मेवार रहेकाे प्रतिवदनमा उल्लेख छ।
वैचारिक–राजनैतिक प्रश्नदेखि पार्टी र संगठनात्मक विधि, पद्धति र आचरणका सम्बन्धमा पार्टी एकताका बेलामा गरिएका प्रबन्ध र निर्णयहरुको निरन्तर अतिक्रमणद्वारा कमरेड केपी शर्मा ओलीले आफू चरम व्यक्तिवादी भएकाे आराेप प्रतिवेदनमा लगाइएकाे छ। प्रतिवेदनमा पार्टीलाई गुटवादी सावित गर्ने काम प्रधानमन्त्री ओलीले गरेकाे उल्लेख छ।
'विद्यमान यो प्रवृतिको व्यापक चिरफार पार्टी आन्दोलन र देशकै निमित्त आवश्यक हुन गएको छ,' दाहालकाे प्रतिवेदनमा भनिएकाे छ, ' यो कुनै व्यक्तिगत आग्रह पूर्वाग्रहको कुरा होइन। अपि तु पार्टी निर्माण र देश निर्माणको अनिवार्य सर्त हो।’ शुक्रबारको सचिवालय बैठकमा पेश भएको दाहालको प्रस्तावमा संगठनभन्दा ओलीको आलाेचनामा केन्द्रित छ।
दुवै अध्यक्षले सयुक्त प्रतिवेदन पेस गर्ने चलन भएपनि याे पटक आन्तरिक विवादले अलगअलग प्रतिवेदन बैठकमा पेस भएका हुन्।
दाहाल प्रतिवेदनको पूर्णपाठ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।