काठमाडौं- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा बंगलादेशसँग नेपाल पराजित भएको छ। करिब एक वर्षपछि शुक्रबार भएको खेलमा नेपाल बंगलादेशसँग २-० गोलअन्तरले पराजित भएको हो।
ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल बंगलादेशसँग पहिलो मैत्रीपूर्ण फुटबल खेलमा पराजित भएको हो। बंगलादेशलाई जित दिलाउन मोहमद नाबिब नवज जीवन र मबुबुर रहमानले गोल गरे। खेलको १०औं मिनेटमा मोहमद नाबिबले गोल बंगलादेशलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप एक गोल खान पुग्यो। खेलको ८०औं मिनेटमा रहमानले गोल गर्दै बंगलादेशलाई २-० को जित दिलाए।
नेपालका तीन खेलाडीले बंगलादेशविरुद्ध डेब्यु गरे। राष्ट्रिय टिममा विकास खवास, एरिक बिष्ट र दर्शन गुरुङले डेब्यु खेल्ने मौका पाए। नेपालले पाएको अवसर एकपछि अर्को गर्दै गुमाउँदा हार्न पुग्यो। नेपालले अब बंगलादेशसँग दोस्रो खेल मंसिर २ गते खेल्नेछ।
राष्ट्रिय टिमका चार जना खेलाडीमा कोरोना देखिएपछि आठ जना नयाँ अनुहारसहित टिम लिएर मुख्य प्रशिक्षक बालगोपाल महर्जन ढाका उडेका थिए। मैत्रीपूर्ण खेलका लागि नेपाली टिमले करिब एक साता मात्रै काठमाडौंमा अभ्यास गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।