नयाँ दिल्ली- आइपिएल क्रिकेटमा सनराइजर्स हैदरावाद अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। हैदरावादले शनिबार भएको खेलमा दिल्ली डेयरडेभिल्सलाई ७ विकेटले पराजित गर्दै पहिलो स्थान कब्जा गरेको हो।
दिल्लीले दिएको १ सय ६४ रनको लक्ष्य हैदरावादले ३ विकेटको क्षतिमा १ बलमा बाँकी छदा पार गर्यो। अन्तिम ओभरमा १४ रन चाहिएको स्थितिमा पहिलो चार बलमा युसुफ पठानले १ चौका र १ छक्कासहित १३ रन जोडेका थिए। उनले नटआउट २७ रन जोडे। १२ बल खेलेका पठानले समान २-२ चौका र छक्का प्रहार गरे। कप्तान केन विलियमसन ३० बलमा ३१ रन जोडेर नटआउट रहे। त्यसअघि ओपनर एलेक्स हल्सले ४५ तथा शिखर धवनले ३३ रनको योगदान दिएका थिए। दुवै ओपनरलाई दिल्लीका अमित मिश्राले बोल्ड गरेका थिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले ५ विकेट गुमाएर १ सय ६३ रन जोड्यो। ओपनर पृथ्वी शले ६५ रन जोड्दा कप्तान श्रेयर एयरले ४४ रनको बटुले। रिशव पन्तले १८ र विजय शंकरले नटआउट २३ रन बटुले। बलिङतर्फ हैदरावादका रसिद खानले २ विकेट लिए।
दिनको पहिलो खेलमा चेन्नई सुपरकिंग्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले हरायो। पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २७ रन मात्र जोड्यो। उसका लागि पार्थिव पटेलले ५३ रन जोडे भने टिम साउथीले नटआउट ३६ रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्। बलिङतर्फ चेन्नईका रविन्द्र जडेजाले ३ र हरवजन सिहंले २ विकेट लिए।

१ सय २८ रनको सामान्य लक्ष्य चेन्नईले १८ ओभरमा ४ विकेट गुमाएर पार गर्यो। चेन्नईका लागि महेन्द्रसिंह धोनीले नटआउट ३१ र डिजे ब्राभोले नटआउट १४ रन जोडे। अम्बाती रायादुको ३२ र सुरेश रैनाको २५ रन पनि जितको आधार बनेको थियो।
लिगमा शीर्ष स्थानको हैदरावादको ९ खेलबाट १४ अंक छ भने दोस्रो स्थानको चेन्नईको १० खेलबाट १४ अंक नै छ। तेस्रो स्थानको कोलकाताको ९ खेलबाट १० अंक र चौथो स्थानको पञ्जावको ८ खेलबाट १० अंक छ। मुम्बई, बैंग्लोर, दिल्ली र राजस्थानको समान ६-६ अंक छ। दिल्ली १औ खेल खेल्दा अन्य ३ टिमले ९-९ खेल खेलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।