काठमाडौं- स्पेनिस क्लब बार्सिलोनामा अन्सु फाती घाइते भएसँगै अग्रभागमा नयाँ खेलाडीका लागि अवसरको मौका देखिएको छ। त्यसमा आइरहेको एउटा नाम हो, अमेरिकी खेलाडी कोनराड डे ला फुनटे।
अमेरिका र वेल्सबीच भएको मैत्रीपूर्ण खेलमा सुरुवाती टिममा खेलेका कोनराडका लागि बार्सिलोना प्रशिक्षक रोनाल्ड कोम्यानको विश्वास जित्ने अवसर आइपुगेको छ। बार्सिलोना बी टिमबाट अघि बढेका कोनराड अमेरिकी राष्ट्रिय टिममा प्रशिक्षक ग्रेग बेर्हाल्टरका नजरमा महत्वपूर्ण साबित भइरहेका छन्।
नयाँ सिजन सुरु हुनुअघिका केही खेलमा बार्सिलोना टिममा अवसर पाएका १९ वर्षका कोनराडले सम्हालिएको खेल नै देखाएका थिए। उनी बलमा सिधा रुपमा बढ्छन् र गोलमा निडर रुपमा विश्वास जित्न सक्छन्। बार्सिलोना बी टिमबाट सेगुन्डा डिभिजनमा उनले देखाएको खेल नै सिनियर टिममा बढ्न सक्ने आधार बनेको हो।
अमेरिकामा १६ वर्षमुनि, १८ वर्षमुनि र २० वर्षमुनिको टिमबाट हुँदै उनी अहिले सिनियर टिममा नै देखिएका छन्। त्यसमा विशेष कारण उनको खेलमा देखिएको विकास नै हो। अहिले फाती चोटमा रहेको समय र बार्सिलोनामा अग्रभागमा देखिएको खेलाडी अभावले कोनराडका लागि थप अवसर बन्ने देखिएको हो।

अमेरिकामा जन्मिएका कोनराड १० वर्षको उमेरमा अभिभावकसँगै स्पेन गएका थिए। त्यसको तीन वर्षपछि उनी बार्सिलोनाको युवा टिममा आबद्ध भए। अहिले बार्सिलोना टिममा अर्का अमेरिकी खेलाडी सर्जिनियो डेस्टसँगै कोनराडलाई विशेष रुपमा हेर्न थालिएको छ।
प्रि सिजनमा जिरोनासँगको खेलपछि बार्सिलोना प्रशिक्षक कोम्यानले भनेका थिए, ‘बार्सिलोना टिमका लागि नयाँ एक युवा खेलाडी रोज्नुपरे त्यो नाम कोनराडको हुनेछ।’
बार्सिलोनाको युवा टिममा कोनराडलाई ल्याएका प्रशिक्षक मार्सेल सान्स उनको खुबीकै कारण बार्सिलोनामा स्थान बनिरहेको बताउँछन्। ‘हामीले कोनराडलाई देख्दा उनी ११ वर्षका मात्र थिए। बार्सिलोनाकै एउटा एकेडेमीमा उनको खेल देखेपछि उनलाई हामीले बार्सिलोनामा ल्याउने योजना बनाएका थियौँ। उनको तीब्रता र सन्तुलन राम्रो छ’ उनले भनेका छन्।
बार्सिलोनामा २०२२ सम्मको सम्झौतामा रहेका कोनराडका लागि अहिले अमेरिकी राष्ट्रिय टिमसँगै बार्सिलोना सिनियर टिममा पनि अवसर बन्ने आश बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।