काठमाडौं– नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा आज (शुक्रबार) बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। करिब एक वर्षपछि नेपालले अन्तर्राष्ट्रिय फुटबल खेल खेल्न लागेको हो।
ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा दिउँसो ४ः४५ मा नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्न लागेको हो। राष्ट्रिय टिमका चार जना खेलाडीमा कोरोना देखिएपछि आठ जना नयाँ अनुहारसहित टिम लिएर मुख्य प्रशिक्षक बालगोपाल महर्जन ढाका उडेका थिए। मैत्रीपूर्ण खेलका लागि नेपाली टिमले करिब एक साता काठमाडौंमा अभ्यास गरेको थियो।
विश्वभर कोरोना भाइरस (कोभिड–१९) को कारण खेलकुद ठप्प हुँदा नेपालले करिब एक वर्ष अन्तर्राष्ट्रिय फुटबल खेल्न पाएन। सन् २०१९ को नोभेम्बर १९ मा नेपालले भुटानमा विश्वकप फुटबल छनोटको दोस्रो चरणको खेलमा कुवेतसँग प्रतिस्पर्धा गरेको थियो। जुन खेलमा नेपाल कुवेतसँग १–० गोलले हार्न पुग्यो। त्यसपछि कोरोनाको महामारी फैलिएपछि नेपालले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिताको मिति पनि सर्दै आएको थियो।
बंगलादेश तुलनात्मक रुपमा नेपालमाथि हावी हुँदै आएको छ। बंगलादेशसँग नेपालले १२ पटक हारेको छ भने दुई पटक बराबरी खेलेको छ। ६ खेलमा भने बंगलादेशलाई नेपालले पराजित गरेको छ। तर पछिल्लो खेलहरुमा बंगलादेशसँग नेपालले जित्दै आएको छ। पछिल्लो पाँच खेलमध्ये नेपालले बंगलादेशलाई तीन खेलमा जित हात पार्दा एक खेलमा बराबरी र एक खेलमा हारेको छ।
किरण चेम्जोङको कप्तानीमा रहेको नेपाली फुटबल टिमले शुक्रबार हुने खेलमा पनि शतप्रतिशत नतिजा निकाल्ने लक्ष्यमा छ। प्रशिक्षक महर्जन र कप्तान किरणले बंगलादेशविरुद्ध जित निकाल्ने प्रि–म्याच कन्फ्रेन्समा बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।