काठमाडौं– हंगेरी, स्लोभाकिया र नर्थ म्यासेडोनिया युरो कप फुटबल २०२० का लागि छनोट भएका छन्। योसँगै युरो कपमा खेल्ने टिमको टुंगो लागेको छ।
बिहीबार राति भएको खेलमा हंगेरीले आइसल्यान्ड, स्लोभाकियाले उत्तरी आयरल्यान्डलाई र नर्थ म्यासेडोनियाले जर्जियालाई पराजित गर्दै युरो कपमा छनोट भएका हुन्। हंगेरीले आइसल्यान्डमाथि नाटकीय जित निकाल्यो। पहिलो हाफमा नै एक गोलले पछि परेको हंगेरीले खेलको अन्तिम दुई मिनेटमा दुई गोल गर्दै २–१ गोलको जित निकालेको हो।
उत्तरी आयरल्यान्डसँग निर्धारित ९० मिनेटसम्म १–१ गोलको बराबरी खेलेको स्लोभाकियाले थप गरिएको अतिरिक्त समयमा गोल गर्दै २–१ गोलको जित निकाल्यो। जर्जियामाथि भने नर्थ म्यासेडोनियाले १–० गोलको जित निकाल्दै पहिलो पटक युरो कपमा छनोट भएको हो। यो युरो कप नर्थ म्यासेडोनियाको डेब्यु युरो कप हो।
कोरोना भाइरस (कोभिड–१९) को कारण एक वर्ष सरेको २०२० को युरो कप २०२१ जुन १२ बाट सुरु हुँदैछ। २४ राष्ट्रको सहभागिता रहने युरोकपमा प्रतिस्पर्धा गर्ने टिमको टुंगो लागेको छ। हंगेरी, स्कटल्यान्ड, स्लोभाकिया र नर्थ म्यासेडोनिया युरो कपमा छनोट भएसँगै युरो कप खेल्ने टिमको टुंगो लागेको हो।
समूह ‘ए’
इटाली, स्वीट्जरल्यान्ड, टर्की, वेल्स
समूह ‘बी’
बेल्जियम, डेनमार्क, फिनल्यान्ड, रसिया
समूह ‘सी’
अस्ट्रिया, नेदरल्यान्ड्स, युक्रेन, नर्थ म्यासेडोनिया
समूह ‘डी’
इंग्ल्यान्ड, क्रोसिया, चेक रिपब्लिक, स्कटल्यान्ड
समूह ‘इ’
पोल्यान्ड, स्पेन, स्वीडेन, स्लोभाकिया
समूह ‘एफ’
जर्मनी, फ्रान्स, पोर्चुगल, हंगेरी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।