काठमाडौं- महान्यायाधीवक्ता अग्निप्रसाद खरेल र प्रहरी महानिरीक्षक शैलेस थापाले गम्भीर प्रकृतिका फौजदारी अपराध लुकाउनेलाई कारबाहीको दायरामा ल्याउन देशभरका प्रहरी प्रमुख र सरकारी वकिल कार्यालयका प्रमुखलाई निर्देशन दिएका छन्। बिहीबार भर्चुअल रूपमा भएको निर्देशन सम्बोधनमा महान्यायाधीवक्ता खरेल र प्रहरी महानिरीक्षक थापाले अपराध अनुसन्धान र अभियोजनमा सुधार ल्याउनका लागि ७७ वटै जिल्लाका प्रहरी प्रमुख र सरकारी वकिल कार्यालयका प्रमुखहरुलाई यस्तो निर्देशन दिएका हुन्।
महान्यायाधिवक्ता खरेलले पछिल्लो समयमा गम्भीर प्रकृतिका फौजदारी कसुरमा पनि स्थानीय स्तरमा मेलमिलाप हुने र अपराधलाई लुकाउन लगाउनेजस्ता कार्यहरू भइरहेको भन्दै यस्ता गैरकानुनी कार्यमा संलग्न व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्।
महान्यायाधिवक्ता खरेलले सरकारी वकील कार्यालय तथा प्रहरी कार्यालयको अवस्था हिजोजस्तो कमजोर नरहेकोतर्फ औंल्याउँदै उपलब्ध स्रोत साधनको समुचित प्रयोग गरी कार्य सम्पादनमा सुधार ल्याउन आग्रह समेत गरे।
सम्बोधनको क्रममा महानिरीक्षक थापाले जरुरी पक्राउ पुर्जीको अनुसन्धान अधिकारीबाट दुरुपयोग गरिएको भन्ने गुनासो सुन्न आएको भन्दै अनावश्यक रुपमा जरुरी पक्राउ पुर्जी जारी नगर्न र यसलाई नियमका रुपमा भन्दा अपवादका रुपमा मात्र प्रयोग गर्न निर्देशन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।