प्रतीकात्मक तस्बिर
सिरहा- सिरहा जिल्लाको गोलबजार नगरपालिका ६ स्थित गोलबजारबाट कार्तिक २७ गते एपीएफ टोलीले नक्कली नोट छाप्दै गरेका तीन जनालाई रंगेहात पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही जिल्लाको कल्याणपुर नगरपालिका ७ बस्ने २४ वर्षीय विमलेन्द्र कुमार नायक, गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षीय धिरज यादव र २० वर्षीय सन्जे राय छन्।
नक्कली नोट छापेको सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश गोलबजारबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
केही दिन अघिदेखि सो ठाँउमा डेरा गरी बसेका उनीहरुलाई नक्कली नोट छापिरहेको अवस्थामा फेला पारिएको हो। उनीहरूका साथबाट प्रहरीले एक हजार दरका एक सय ४ वटा नक्कली नोट तथा छाप्दै गरेका एक हजार दरकै ५८० वटा नक्कली नोट बरामद गरेको छ।
एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद नक्कली रुपैयाँ सहित आवश्यक कारबाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।