काठमाडौं– बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीले राजदूत बन्नका लागि कुनै गलत काम नगरेको बताएका छन्। संसदीय सुनुवाईका क्रममा सांसदले गरेका प्रश्नको उत्र दिँदै उनले यस्तो स्पष्टीकरण दिएका हुन्।
सांसद भिमसेनदास प्रधानले अरु कसैलाई मुख्यसचिव बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले दबाब दिएका कारण राजदूत बन्नु परेको हो कि? भनेर गरेको प्रश्नमा उनले संविधान र कानुनबमोजिम सरकारले गरेको निर्णयलाई शिरोधार्य गरेको बताए। त्यो बाहेकका विषयमा आफूलाई कुनै जानकारी नभएको उनको भनाइ छ।
यसैगरी आफूले सम्पत्ति आर्जन गरेर अरु कुनै व्यक्तिको नाममा रकम नराखेको पनि बताएका छन्। उनले भने, 'जुनसुकै निकायबाट अनुसन्धान र छानबिन गरे हुन्छ।'
यसैगरी राजदूत कुनै एउटा विभागअन्तर्गतको मात्र नहुने उनले बताए। उनले भने, 'यो परराष्ट्र मन्त्रालयअन्तर्गतको कुरा होइन। यसले सिङ्गो नेपाल र नेपालीलाई प्रतिनिधित्व गर्छ।'
सांसदहरुले उनलाई राजदूत नियुक्त भएर जाँदा मुख्यसचिवको रोलक्रम मिचिएको, बहालवालामुख्यसचिव हुँदाहुँदै नियुक्ति लिएर जाँदा स्थायी सरकार नकारात्मक प्रभाव परेको, सुविधाका लागि राजदूत पदलाई लिइएकोजस्ता प्रश्न रेग्मीमाथि गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।