काठमाडौं- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा क्रोयसियाका कप्तान दोमागोए भिडाले टर्कीसँगको मैत्रीपूर्ण खेलमा कोरोना संक्रमण हुँदाहुँदै पहिलो हाफको ४५ मिनेट फुटबल खेलेका छन्। ३–३ को बराबरी भएको खेलमा उनले कोरोना जाँचको नतिजा आउनुअघि नै पहिलो हाफको खेल खेलेका हुन्।
३१ वर्षका सेन्टर ब्याक खेलाडी भिडा पहिलो हाफमा परिवर्तन गरिएका थिए। कोरोना संक्रमित भएको पाइएपछि उनी इस्तानबुलमा नै केही दिन सेल्फ आइसोलेसनमा बस्नेछन्। टिमका बाँकी खेलाडी नेसन्स लिग अन्तर्गतको खेलका लागि स्वीडेन जाने छन्।
सोमबार गरिएको कोरोना परीक्षणमा सबै खेलाडीको नतिजा नेगेटिभ आएको थियो। तर पछिल्लो पटक बुधबार बिहान दिइएको स्वाब परीक्षण गर्दा भिडाको नतिजा पोजेटिभ आएको हो। जसले गर्दा उनी खेल खेलिरहँदा नै कोरोना परीक्षणको नतिजा आयो। क्रोयसियाको मेडिकल टिमले भिडाको नतिजा थाहा पाएपछि उनी मध्यान्तरमा परिवर्तन गरिएका थिए।
क्रोयसियन फुटबल फेडेरेसनले आफूहरुले खेलाडीको स्वास्थ्य अवस्था थाहा पाउने वित्तिकै युइएफएको नियमअनुसार सबै सुरक्षा उपाय अपनाएको बताएको छ। फेडेरेसनले प्रशिक्षक जाल्ट्को डेलिकले भिडालाई परिवर्तन गर्ने निर्णय लिइसकेपछि कोरोना परीक्षणको नतिजा आएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।