काठमाडौं- कतारमा २०२२ मा हुने फिफा विश्वकप फुटबल र चीनमा २०२३ मा हुने एएफसी एसियन कप अन्तर्गत छनोट चरणका खेलका लागि नयाँ समय तय भएको छ। कोरोना माहामारीका कारण स्थगित खेलको नयाँ तालिका एएफसी प्रतियोगिता समितिले स्वीकृत गरेको हो।
एएफसीका अनुसार छनोटअन्तर्गत दोस्रो चरणका खेलहरू आउँदो जुन १५ सम्म सक्ने गरी तयारी भएको छ। नयाँ तालिकाअनुसार दोस्रो चरणको छनोटअन्तर्गत म्याच डे ७ र म्याच डे ८ का खेल आउँदो मार्चमा हुनेछ। यस्तै म्याच डे ९ र म्याच डे १० का खेल जुनमा हुनेछ।
यस्तै तेस्रो चरणको छनोट खेलहरु सेप्टेम्बर २०२१ मा सुरु गरिनेछ। एएफसीका अनुसार मार्च २०२२ सम्ममा छनोट चरणका खेलहरु सकिनेछन्।
यसअघि छनोटका खेलहरू अक्टोबर ८ र १३ तथा नोभेम्बर १२ र १७ गराउने तालिका कोरोनाका कारण प्रभावित भएको थियो। दोस्रो चरणको छनोटमा नेपालले तीन खेल खेल्न बाँकी छ। म्याच डे ७, ८ र ९ का खेलहरू नेपालले घरेलु मैदानमा चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्नेछ।
छनोटको समूह ‘बी’ मा रहेको नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अङ्क जोडेको छ। चाइनिज ताइपेईलाई हराएको नेपाल अन्य चार खेलमा भने पराजित भएको थियो। नेपालको समूहमा अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ।
यसै छनोटका खेलहरुलाई मध्यनजर गर्दै नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालले शुक्रबार बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ। यस्तै मंसिर २ गते दोस्रो मैत्रीपूर्ण खेल खेल्ने तय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।