काठमाडौं–जनता समाजवादीका पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले नेकपा नेता वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णयविरुद्ध अन्तरिम आदेश जारी नहुने आदेशप्रति लक्षित गर्दै टिप्पणी गरेका छन् । भट्टराईले सामाजिक सञ्जालमा ‘संवैधानिक इजलाश राखेको पाप भोग्नुपरेको’ भनेका छन् ।
बुधबार सर्वोच्चले गौतमलाई थप जिम्मेवारी नदिनु भनि यसअघि दिएको अन्तरिम आदेश खारेज गरेको थियो।
चुनाव हारेपछि पनि चोरबाटोबाट सांसद र मन्त्री बन्ने कुसंस्कार रोक्नलाई नै संविधानको धारा ७८(४) को व्यवस्था गरिएको हो,’ उनले लेखेका छन्, ‘‘न्यायाधीशले संविधान र कानूनको अक्षर मात्र हैन त्यसको स्पिरिट पनि हेर्नुपर्छ। हामीले यो स्पिरिट बुझ्ने संवैधानिक अदालतको सट्टा पुरानै सोचको इजलास राखेको पाप त भोग्दैछैनौं?’
बर्दियाबाट पराजित गौतम र गोरखाबाट पराजित भएका नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभामा पुगेका छन्। गौतमलाई राष्ट्रपतिको सिफारिसको कोटामा सरकारले राष्ट्रिय सभाको सांसद बनाएको थियो । त्यसविरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा पहिलो सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेको थियो। बुधबार संवैधानिक इजलाशले अन्तरिम आदेश खारेज गर्दै गौतमलाई मन्त्री बन्ने बाटो खोलेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।