काठमाडौं– इटालीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा फराकिलो जित निकालेको छ। बुधबार राति भएको खेलमा इटालीले एस्टोनियालाई ४–० गोलअन्तरले पराजित गरेको हो।
आफ्नै घरेलु मैदानमा भएको खेलमा एस्टोनियाविरुद्ध इटालीका भिन्सेन्जो ग्रिफोले दुई गोल गरे। त्यस्तै, फेडेरिको बेर्नान्डेस्ची र रिकार्डो आर्सोलिनीले १–१ गोल गरे। पहिलो हाफमा दुई गोलको अग्रता बनाएको इटालीले दोस्रो हाफमा थप दुई गोल गर्दै फराकिलो जित निकालेको हो।
१४ औं मिनेटमा ग्रिफोले गोल गर्दै इटालीलाई अग्रता दिलाए। २७ औं मिनेटमा फेडेरिकोले गोल गर्दै इटालीलाई २–० गोलको अग्रतामा पुर्याए। ७५ औं मिनेटमा ग्रिफोले पेनाल्टीबाट गोल गर्दा इटालीले ३–० गोलको अग्रता बनायो। ८६ औं मिनेटमा रिकार्डोले पेनाल्टीबाटै गोल गरेपछि इटालीले एस्टोनियालाई ४–० गोलअन्तरले पराजित गरेको हो।
बुधबार राति नै भएको अर्को खेलमा बेल्जियमले स्वीट्जरल्यान्डलाई २–१ गोलअन्तरले पराजित गरेको छ। १–० गोलले पछि परेको बेल्जियमले उत्कृष्ट प्रदर्शन गर्दै पुनरागमन जित निकालेको हो। खेलको १२ औं मिनेटमा एडमिर मेहमेदीले गोल गर्दै स्वीट्जरल्यान्डलाई अग्रता दिलाएका थिए। तर बेल्जियमका माइक बाट्सुएयीले दुई गोल गर्दै जित दिलाए। उनले खेलको ४९ औं र ७० औं मिनेटमा गोल गर्दै बेल्जियमलाई २–१ गोलको जित दिलाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।