काठमाडौं– जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा जित निकालेको छ। घरेलु टिम जर्मनीले बुधबार राति चेक रिपब्लिकविरुद्ध १–० गोलको संघर्षपूर्ण जित निकालेको हो।
अधिकांश दोस्रो रोजाईका खेलाडीलाई मैदानमा उतारेको जर्मनीका लागि लुका वाल्डस्चमिड्टले गोल गरे। पहिलो रोजाईका खेलाडीलाई विश्राम दिइएको खेलमा इल्के गुन्डगनको कप्तानीमा जर्मनी मैदानमा उत्रिएको थियो।
खेलको १३ औं मिनेटमा लुकाले गोल गर्दै जर्मनीलाई अग्रता दिलाए। पहिलो हाफमा १–० गोलको अग्रता बनाएको जर्मनीले दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै गर्दै जित निकालेको हो। खेलअवधिभर जर्मनीले बल नियन्त्रणमा राखेपनि थप गोल गर्न सकेन। चेक रिपब्लिकलाई जर्मनीविरुद्ध जित निकाल्ने राम्रो अवसर थियो। तर मौकाको फाइदा उठाउन सकेन।
यो मैत्रीपूर्ण खेल नेसन्स लिगको लागि तयारी पनि हो। जर्मनीले नोभेम्बर १५ तारिखमा आफ्नै घरेलु मैदानमा युक्रेनसँग नेसन्स लिगमा प्रतिस्पर्धा गर्दैछ। त्यस्तै, १८ तारिखमा स्पेनसँग जर्मनीले प्रतिस्पर्धा गर्ने तालिका छ।
यता, युक्रेन पोल्यान्डसँगको मैत्रीपूर्ण खेलमा २–० गोलअन्तरले पराजित भएको छ।
त्यस्तै, स्पेन र नेदरल्यान्ड्सले पनि १–१ गोलको बराबरी खेलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।