काठमाडौं– पोर्चुगलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा एन्डोरालाई फराकिलो अन्तरले पराजित गरेको छ। बुधबार राति भएको खेलमा पोर्चुगलले एन्डोरालाई ७–० गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम पोर्चुगलको जितमा पाउलिन्होले दुई गोल गरे। कप्तान क्रिस्टियानो रोनाल्डो, पेड्रो नेटो, रेनाटो सान्चेज र जोआओ फेलिक्सले समान १–१ गोल गरे। एक गोल भने पोर्चुगलले उपहारस्वरुप पाएको थियो। खेलको आठौं मिनेटमा पेड्रोले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको २९ औं मिनेटमा पाउलिन्होले गोल गर्दै पहिलो हाफसम्म पोर्चुगललाई २–० गोलको अग्रता दिलाए।
खेलको ५६ औं मिनेटमा रेनाटोले गोल गर्दा पोर्चुगलले ३–० गोलको अग्रता लियो। ६१ औं मिनेटमा पाउलिन्होले अर्को गोल गर्दै पोर्चुगललाई ४–० गोलको अग्रता दिलाए। एन्डोराका इमिली गार्सियाले आत्मघाती गोल गरेपछि खेलको ७६ औं मिनेटमा पोर्चुगलले ५–० गोलको अग्रता बनाएको थियो।
खेलको ८५ औं मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई ६–० गोलको फराकिलो अग्रता दिलाए। त्यसको तीन मिनेटपछि फेलिक्सले गोल गर्दै पोर्चुगललाई एन्डोराविरुद्ध ७–० गोलको जित दिलाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।