काठमाडौं- महानगरीय अपराध महाशाखा काठमाडौंले फोनबाट धम्क्याई आपराधिक लाभ लिन खोज्ने ४ जनालाई पक्राउ गरेको छ। जबरजस्ती चन्दा असुलीको खबर प्राप्त भएपछि महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानहरूबाट सोमबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नुवाकोट ककनी-२ का ३३ वर्षीय बिन्तोष सिलवाल (सुनार), रामेछप, सुनापती-३ का ३१ वर्षीय रामदल श्रेष्ठ (अटल), काभ्रे, तिमाल-५ का ५२ वर्षीय तिर्थमान तामाङ र चितवन, भरतपुर-१३ का ४२ वर्षीय नन्दुराज आचार्य रहेको महाशाखाले जनाएको छ।
उनीहरूले काठमाडौं उपत्यकालगायत विभिन्न स्थानका व्यवसायीहरूलाई फोन गरी नेकपा माओवादी, विप्लव समूहको पूर्व जिल्ला सेक्रेटरी र कार्यकर्ता हौं भनी ३ करोड चन्दा माग गरेका थिए। साथै उनीहरूले माग गरेबमोजिम चन्दा नदिएमा भौतिका कारबाही गर्न धम्कीसमेत दिएका थिए।
यसबारे थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।