काठमाडौं- दक्षिणकाली मन्दिरको परिचय बोकेको सेलरोटीको मौलिकता र बजारीकरण गर्ने उद्देश्यले सोमबार त्यहाँस्थित व्यवसायीहरुबीच सेलरोटी पकाउने र पस्कने कलाको प्रतिस्पर्धा आयोजना गरिएको छ। शुभ दिपावाली नजिकै जाँदा तिहारमा पकाइने मुख्य परिकारमध्येको एक सेलरोटी र दक्षिणकाली मन्दिरको धार्मिक पर्यटन प्रवर्दन गर्ने उद्देश्यले मन्दिर क्षेत्रमा रहेका करिब ५ दर्जन व्यवसायीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए।
ललितपुर सातदोबाटो स्थित आइएचएम कलेज र आइएम विथ सेफको संयोजन तथा दक्षिणकाली नरपालिका र पर्यटन बोर्डको सयुक्त सहकार्यमा नेपाली सेफ र कलरीनरी जगतका एक दर्जन भन्दा बढि संघसस्थाको सयुक्त आयोजनामा (सेलरोटीको स्वाद) टेस्ट अफ नेपालिज फुड अन्तरगर्तको पहिलो कार्यक्रम सम्पन्न भएको हो। नेपाली मौलीक खानालाई स्थानीय स्तरबाटै चिनाउने र त्यसको मौलिकता तथा बजार प्रवर्द्धन गर्ने उद्देश्यले कर्मा मिडियाको व्यवस्थापनमा कार्यक्रम आयोजना गरिएको हो।
प्रतियोगितामा सहभागी व्यवसायीलाई ३ समूहमा विभाजन गरी सेफहरुको ३ वटा निर्णायक मण्डलीले तयारी, मौलिकता, स्वाद र बजारीकरणको सम्भावना लगायतको मापदण्डलाई आधार बनाएर उत्कृष्ट ३ व्यवसायीको छनौट गरेका थिए।
प्रतियोगितामा मायादिदीको खाजाकी सञ्चालक माया ब्लोन प्रथम, जयकाली खानाका सञ्चालक सारदा तामाङ द्वित्तीय र बालकृष्ण श्रेष्ठले तृतीय स्थान हासिल गर्न सफल भए। उनीहरुलाई दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले क्रमश नगद १०, ७ र ५ हजार तथा प्रशंसापत्रले सम्मानित गरेका छन्।
समापन कार्यक्रममा बोल्दै मेयर बस्नेतले दक्षिणकाली क्षृेत्रको पहिचान अब सेलरोटीले चिनाउने विश्वास व्यक्त गरेका थिए। नगरपालिकाले देशका उद्योगी व्यवसायीहरुलाई यस क्षेत्रको पर्यटन प्रवर्द्धन र उद्योगमा लगानी गर्न विशेष नीति लिएको बताए।
होटल एसोसिएसन अफ नेपाल हानका प्रथम उपाध्यक्ष विनायक शाहले कोभिडका कारण पर्यटन वर्ष नै स्थगित गर्नु परेको अवस्थामा यस किसिमका कार्यक्रममा व्यवसायीमा हौसला बढ्ने र गुठस्तर बढ्दै जादा त्यसको खपत पनि बढ्ने बताए।
विश्वमा हरेक देशले आफ्नो राष्ट्रिय ध्वजाबाहकमा आफ्नै मौलीक खाना, मेनुमा समावेश गर्ने गरेको स्मरण गर्दै नेपाल एयरलाइन्सले सेलरोटी जस्तो मौलिक र नेपालको चिनारी बोकेको खानालाई समेट्न सके बजारीकरण बढ्ने बताए।
नेपालका पहिलो एक्जुकेटिभ सेफ गोबिन्द नरसिंह केशीले (सेलरोटीको स्वाद) मार्फत् मौलिक खानाको विश्व बजारीकरणमा जुटेका सबैलाई एउटै सूत्रमा बाँधेको बताए।
प्रदर्शनमा यस किसिमको बृहत सहभागिताले खानाको मौलिकता प्रवर्द्धनमा एकता, सहकार्य र सम्मानको नयाँ अध्याय सुरु गरेको बताए।
कार्यक्रममा कोभिडबाट भोकभाकै परेका अति बिपन्न र असाहयहरुलाई खाना खुवाउने अभियानमा सक्रिय सेफ टेकनाथ नेपाल र सेफ शिवहरी घिमिरे तथा मौलिक खानाको प्रचार र होम स्टे व्यवस्थापनमा विशेष योगदान पुर्याएबापत् सेफ मोहन गजुरेललाई सम्मान गरिएको थियो।
नेपाल सेफ एसोसिएसन(क्यान),रेस्टुरेन्ट एसोसिएसन अफ नेपाल(रेबान), ग्लोबल सेफ फेडेरेसनलगायत संस्थाले पनि कार्यक्रमलाई साथ दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।