काठमाडौं–सरकारले ८ पुरातात्विक संरचनाको जिर्णोद्दारका लागि २ करोड रुपैयाँ भन्दा बढी खर्च गर्ने भएको छ। विभिन्न ठाउँमा रहेका ८ वटा मन्दिरको मर्मतसम्भारका लागि पुरातत्व विभागले कम्पनी छनोट गरेको छ।
विभागले २ करोड १ लाख ४९ हजार ८ सय ३० रुपैयाँ (मूल्य अभिवृद्धि करबाहेक) खर्च गर्ने गरी कम्पनी छनोट गरेको हो।
कुन मन्दिर संरक्षण्मा कति खर्च?
विभागले बुटवलमा रहेको मजार बाबाको मन्दिर संरक्षणमा लागि लिखुदेम्बा कन्स्ट्रक्सन छनोट गरेको छ। मन्दिर मर्मतसम्भारको लागत रकम भने ८ लाख १ हजार ४ सय रुपैयाँ रहेको छ।
यसैगरी, दक्षिणकाली मर्मत सुधारमा लागि २५ लाख ३६ हजार ८ सय ३२ रुपैयाँमा काम गर्ने गरी वडावन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि दैलेखलाई विभागले जिम्मा दिएको छ। साथै विभागले सिन्धुपाल्चोकको भीमसेनथान सत्तल मन्दिर संरक्षणका लागि २४ लाख ४१ हजार ४ सय ८ रुपैयाँमा काम गर्ने गरी लिखुदेम्बा कन्स्ट्रक्सन छनोट गरेको छ।

विभागले काभ्रेको भीमसेन स्थान सुधारका लागि १६५ लाख ९३ हजार ३ सय २ रुपैयाँमा काम गर्ने गरी बुद्ध निर्माण सेवालाई जिम्मा दिएको छ। साथै २४ लाख ४१ हजार १ सय ४७ रुपैयाँमा गोदावरी कुण्ड संरक्षण गर्न विभागले न्यू बेन्जामिन निर्माण सेवालाई छनोट गरेको छ।
यसैगरी, नुवाकोटको विदुरमा रहेको पञ्चकन्या मन्दिर संरक्षणका लागि १६ लाख ८६ हजार ६सय ९८ रुपैयाँमा काम गर्ने गरी विभागले इन्द्रदह निर्माण सेवा छनोट गरेको छ।
साथै रामेछापको भीमसेन थान मन्दिर संरक्षणका लागि विभागले ३२ लाख २४ हजार ९ सय ६० रुपैयाँमा काम गर्ने गरी मिलिजुली कन्सट्रक्सन एण्ड सप्लायर्स छनोट गरेको छ।
यसैगरी, रामेछापकै नर्वदेश्वर मन्दिर परिसरको सत्तल पुनर्निमाणका लागि ज्याङछुप छयोठुल कन्स्ट्रक्सन छनोट भएको छ। यसको लागत भने ४७ लाख ३४ हजार ८२ रुपैयाँ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।