काठमाडौं- कर्तव्य ज्यान मुद्दाका एक फरार दोषीलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चितवनको कठारका जीवन लोहनीको हत्यामा संलग्न भई फरार भएका झापाको मेचीनगर नगरपालिका-७ आर्याबारीका रामकुमार गिरीलाई पक्राउ गरेको हो।
काठमाडौं रानिबारी बस्ने लोहनीले प्रकाश लामाले कानमा लगाएको मुन्द्रा मागेका थिए। लामाले मुन्द्रा नदिएपछि सोही विषयमा विवाद हुँदा लोहनीले लामालाई कुटपिट गरेका थिए।
लामालाई कुटपिट गरेको भन्दै हाल पक्राउ परेका गिरीसहितको टोलीले लोहनीलाई २०६१ माघ ११ गते सामाखुसीमा कुटपिट गरेको थियो। सोही क्रममा लोहनीको मृत्यु भएको थियो।
हाल पक्राउ परेका गिरीलाई काठमाडौं जिल्ला आलतले २०६४ असार ११ गते कर्तव्य ज्यानको कसुरमा दोषी ठहर गर्दै फैसला सुनाएको थियो।
तर गिरी भने फरार भएर विभिन्न देशमा बस्दै आएका थिए। केही समयअघि नेपाल आएका उनी हरि गिरी, सनोज गिरी भनेर नाम परिवर्तन गरेर लुकिछिपी बस्दै आएका थिए । सोमबार भने महाशाखाले गिरीलाई चाँगुनारायण नगरपालिका–७ बाट पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।