एजेन्सी–अमेरिकाको संविधान अनुसार नवनिर्वाचित राष्ट्रपतिले जनवरी २० अगाडि सपथग्रहण र पदभार ग्रहण गर्न पाउँदैनन्। त्यतिबेलासम्म पुरानै राष्ट्रपति ह्वाइटहाउसमा रहन्छन्। जो बाइडेनले चुनाव जिते पनि डोनाल्ड ट्रम्प जनवरी २० सम्म अमेरिकाको राष्ट्रपति कायम रहने छन्।
जनवरी २० सम्म राष्ट्रपतिको शक्तिमा कुनै कटौती हुँदैन। त्यसैले उनले राष्ट्रपतिको हैसियतमा विगतमा जे–जे गर्ने अधिकार पाएका थिए, त्यो अधिकार जनवरी २० सम्म निरन्तर पाउनेछन् । उनी जनवरी २० सम्म कमाण्डर इन चिफ र अमेरिकाको प्रमुख कार्यकारी रहनेछन् ।
राष्ट्रपति ट्रम्पले त्यो अवधिसम्म कार्यकारी आदेश जारी गर्नेदेखि विभिन्न खाले नियुक्ति गर्न पाउने अधिकारसम्म राख्छन् । यो अवधिमा ट्रम्पलाई खर्च विधेयक अगाडि बढाउनेदेखि संघीय अदालतहरुमा नियुक्ति गर्न पाउने सम्मको अधिकार हुन्छ। उनले यो अवधिमा विभिन्न व्यक्तिलाई क्षमादान दिनसक्ने पनि छन्। विगतमा पनि यस्तो अभ्यास रहेको छ। उनले आफ्ना परिवारका सदस्यहरुदेखि उनका साथमा काम गरेका अन्य व्यक्तिसम्मलाई क्षमादान दिन सक्नेछन्।
उनले आफ्ना प्रमुख रणनीतिकार स्टीभ ब्याननदेखि व्यक्तिगत वकिल रुडी गिलियानीसम्मलाई क्षमादान दिनसक्ने अनुमान गरिएको छ । ट्रम्पले आफ्ना रेकर्डहरु नष्ट गर्ने, कैयन अधिकारीहरुलाई निस्कासन गर्ने र संघीय कर्मचारीतन्त्रलाई कमजोर पार्न प्रयास गर्ने कतिपय विज्ञहरुको अनुमान छ ।
यस्तो अवधिमा विगतका कैयन राष्ट्रपतिहरुले कैयन व्यक्तिलाई क्षमादान दिने गरेका छन् । यस्तो अवधिमा जर्ज बुस सिनियरले सोमालियामा राजनीतिक स्थिरताका लागि सेना परिचालन गर्ने निर्णय गरेका थिए। त्यस्तै उनले इराकमाथि हवाई हमलासमेत गराएका थिए। उनले कैयनलाई क्षमादान समेत दिएका थिए। यो अवधिमा बाराक ओबामाले राष्ट्रसंघको हरित जलवायु फण्डमा ५ सय मिलियन डलर अनुदानमा हस्ताक्षर गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।