काठमाडौं–लेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा वेल्भ्सलाई १–० गोलअन्तरले पराजित गर्दै लेस्टर लिगको शीर्ष स्थानमा उक्लिएको हो।
लेस्टरको जितमा जेमी भार्डीले गोल गरे। घरेलु टिम लेस्टरका लागि खेलको १५ औं मिनेटमा भार्डीले पेनाल्टीबाट गोल गर्दै १–० गोलको अग्रता दिलाएका थिए। वेल्भ्सका म्याक्सिमिलियानो किलम्यानले पेनाल्टी क्षेत्रमा ह्यान्ड गरेपछि लेस्टरले पेनाल्टी पाएको थियो।
खेलको ३८ औं मिनेटमा फेरि वेल्भ्सले लेस्टरलाई पेनाल्टी दियो। पेनाल्टी क्षेत्रमा रियान नउरीले जेम्स जस्टिनलाई लडाएपछि लेस्टरले दोस्रो पटक पेनाल्टी पाएको थियो। यो पटक पनि भार्डी नै पेनाल्टी प्रहार गर्न आए। तर उनको पेनाल्टी यो पटक भने वेल्भ्सका गोलकिपरले बचायो। २–० गोलको अग्रता बनाउने अवसर लेस्टरले गुमाएपनि खेल १–० गोलले जित्दै शीर्ष स्थानमा उक्लिएको हो।
लेस्टरले आठ खेलबाट १८ अंक बनाएको छ। पराजित वेल्भ्स भने आठ खेलबाट १३ अंक बनाउँदै लिगको नवौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।