काठमाडौं–साविक विजेता लिभरपुल र म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा बराबरी खेलेका छन्। आइतबार राति भएको खेलमा लिभरपुल र सिटीले १–१ गोलको बराबरी खेलेका हुन्।
लिभरपुलका लागि मोहम्मद सलाहले गोल गरे भने सिटीका गाब्रियल जेसुसले गोल फर्काए। लिभरपुलले आफ्नो अग्रता जोगाउन नसक्दा अंक बाँड्न पुग्यो भने सिटीले पाएको पेनाल्टीमा गोल गर्न नसक्दा जित निकाल्न सकेन।
पेनाल्टी क्षेत्रमा सिटीका वाल्करले साडियो मानेलाई लडाएपछि लिभरपुलले पेनाल्टी पाएको थियो। खेलको १३ औं मिनेटमा सलाहले पेनाल्टीको सदुपयोग गर्दै लिभरपुललाई १–० गोलको अग्रता दिलाए। खेलको ३१ औं मिनेटमा गाव्रियल जेसुसले गोल गर्दै सिटीलाई १–१ गोलको बराबरी दिलाए। खेलको ३९ औं मिनेटमा लिभरपुलका जोसेफ गोमेजले डिबक्सभित्र ह्यान्ड गरेपछि म्यानचेस्टर सिटीले पेनाल्टी पाएको थियो। पेनाल्टी प्रहार गर्न आएका केभिन डि ब्रुयनले पेनाल्टीबाट गोल गर्न नसकेपछि सिटीले २–१ गोलको अग्रता बनाउने अवसर गुमायो।
पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको दुबै टिमले दोस्रो हाफमा पनि बराबरी खेल्दैं अंक बाँडेका हुन्। यो बराबरीसँगै शीर्ष स्थानमा उक्लिने माकौ पनि लिभरपुलले गुमाएको छ। आठ खेलबाट १७ अंक बनाएको लिभरपुल लिगको तेस्रो स्थानमा छ। सिटी भने सात खेलबाट १२ अंक बनाउँदै लिगको १० औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।