काठमाडौं– साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा लज्जास्पद हार ब्यहोरेको छ। आइतबार राति भएको खेलमा रियल मड्रिड भ्यालेन्सियासँग ४–१ गोलअन्तरले पराजित भएको हो।
रियलविरुद्ध शानदार जित निकाल्ने क्रममा भ्यालेन्सियाका कार्लोस सोलरले ह्याट्रिक गोल गरे। त्यस्तै, भ्यालेन्सियाले एक गोल भने उपहारस्वरुप पाएको थियो। यता, रियलका लागि करिम बेन्जिमाले एक गोल फर्काए। एक गोलले पछि परेको भ्यालेन्सियाले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो।
खेलको २३ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई १–० गोलको अग्रता दिलाएका थिए। तर यो अग्रता रियलले धेरै बेरसम्म टिकाई राख्न सकेन। खेलको ३५ औं मिनेटमा सोलरले पेनाल्टीबाट गोल गर्दै भ्यालेन्सियालाई १–१ गोलको बराबरी दिलाए। खेलको ४३ औं मिनेटमा रियल मड्रिडले आत्मघाती खायो। राफेयल भरानेले आत्मघाती गोल गरेपछि भ्यालेन्सियाले पहिलो हाफसम्म २–१ गोलको अग्रता लियो।
रियलका मार्सेलोले फोउल गरेपछि भ्यालेन्सियाले फेरि पेनाल्टी पायो। ५४ औं मिनेटमा सोलरले नै पेनाल्टी प्रहार गर्दै भ्यालेन्सियालाई ३–१ गोलको अग्रता दिलाए। रियलका कप्तान सर्जियो रामोसले डिबक्सभित्र बल हातले छोएपछि भ्यालेन्सियाले अर्को पेनाल्टी पायो। खेलको ६३ औं मिनेटमा कार्लोस सोलरले नै पेनाल्टीबाट गोल गर्दै ह्याट्रिक पूरासहित भ्यालेन्सियालाई ४–१ गोलको जित दिलाए।
रियल मड्रिडलाई पराजित गर्दै भ्यालेन्सियाले जारी लिगमा तेस्रो जित निकालेको छ। तालिकाको नवौं स्थानमा रहेको भ्यालेन्सियाले ९ खेलबाट ११ अंक बनाएको छ। पराजित रियल मड्रिडको भने आठ खेलबाट १६ अंक छ। रियल लिगको चौथो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।