काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रज्वल क्षेत्री र प्रकाश नाथ श्रेष्ठलाई फिफा अन्तर्राष्ट्रिय रेफ्रीमा नियुक्त गरेको छ। एन्फाले आइतबार क्षेत्री र श्रेष्ठलाई सन् २०२१ का लागि फिफा रेफ्री नियुक्त गरेको जानकारी दिएको हो।
एन्फाले सुदिश पाण्डे र श्रवन लामाको स्थानमा क्षेत्री र श्रेष्ठलाई फिफा रेफ्री बनाएको हो। एन्फाको रेफ्री कमिटीले फिटनेस र मेडिकल टेस्टपछि यसअघि भएका फिफा रेफ्रीहरुमा हेरफेर गर्दै सूची तयार गरेको हो।
एन्फाले जानकारी दिएअनुसार अब पुरुष फिफा रेफ्रीहरुमा नविन्द्र महर्जन, कविन व्यन्जनकार, प्रज्वल क्षेत्री र प्रकाश नाथ श्रेष्ठ गरी चार जना छन्। त्यस्तै, महिला फिफा रेफ्री पनि परिवर्तन भएको छ। यसअघि नेपालमा अश्मिता मानन्धर रहेकी थिइन्। एन्फाले २०२१ को लागि उनको स्थानमा अञ्जना राईलाई महिला फिफा रेफ्री बनाएको छ।
त्यस्तै, फिफा सहायक रेफ्रीमा पनि दुई जना परिवर्तन भएका छन्। रोजेन श्रेष्ठ र पदम भुजेलको स्थानमा विक्रम चौधरी र किशन यादवलाई नियुक्त गरिएको पनि एन्फाले जानकारी दिएको छ।
फिफा सहायक रेफ्रीहरुमा महिलातर्फ विना श्रेष्ठ रहेकी छिन् भने पुरुषतर्फ नानीराम थापा मगर, माधव खत्री, युनाल श्रेष्ठ, सहदेव श्रेष्ठ, विक्रम चौधरी र किशन यादव रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।