मालिकको आँगनमा
शरदको बिहानीले ओछ्याइसक्यो- मखमली कार्पेट
घाम दौडेर कोठा-चोटामा
फिटिसक्यो तास
हानिसक्यो कौडा ।
आम्मा हो...
रात पनि कति उज्यालो मालिकको घरमा !
दशैं त यस्तो पो हो, साइँला दाइ !
खोइ तिम्रो दशैं ?
यस्तो बेलामा पनि
कति फुर्सद तिमीलाई- गिट्टी कुटिरहन
कति फुर्सद तिमीलाई- बालुवा चालिरहन
कति फुर्सद तिमीलाई- भारी बोकिरहन
गैंती र बेल्चा बजाइरहने तिमीलाई
निको लाग्दैन कि क्या हो मंगलधुन ?
एकचोटि
टोपीले पसिना पुछी हेर त,
तिम्रा नानीहरूको औंलामा अड्केको
चंगाको धागो हो कि, कट्टुको इँजार ?
यस्तो त हैन नि दशैं, साइँला दाइ !
खोइ-
दशैंलाई भनी साचेको रातो भाले ?
जसका खातिर तिमी
ब्वाँसाहरूसँग जोरी खेल्थ्यौ,
खोइ-
दशैंलाई भनी साँचेको कालो बोको ?
जसका खातिर तिमी
बाघसँग भिड्न तम्सिन्थ्यौ
आज एकाएक
तिम्रो मन र खोर रित्तो पारेर
कसले लग्यो तिम्रो दशैं ?
कसले सुन्दै छ मंगलधुन ?
बाघमाथि सवार देवीलाई सोध, साइँला दाइ !
भाउजूको
बुच्चो नाक र कानको लागि सोध
नानीहरूको
भोको पेट र आङको लागि सोध ।
तिमीले पनि चढाउँथ्यौ नि
देवीको पाउमा फूलभेटी,
तर
खोइ तिम्रो दशैं ?
तिम्रो निधार
पसिनाको मुहान मात्र हो र ?
जो सधैं पखालोस् मालिकहरूको बिहान
जो सधैं पखालोस् मालिक गुड्ने सडक
जो सधैं पखालोस् मालिकहरूको भित्ता
र, चम्काओस् सधैं
मालिकहरूकै दशैं ।
जाँड खाएर भन्यो नभन साइँला दाइ !
कस्सम...!
तिम्रो निधारमा देखिरहेछु
चमचम चम्किरहेको- तेस्रो आँखा ।
हो, त्यही उज्यालोमा उभिएर-
बाघमाथि चढ्नेलाई सोध
सडकमाथि गुड्नेलाई सोध
कुर्चीमाथि बस्नेलाई सोध
`खोइ मेरो दशैं ?´
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।