काठमाडौं– प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई सहयोग गर्न प्रस्ताव गरेका छन्। बालुवाटारमा भएको भेटवार्तामा ओलीले यस्तो प्रस्ताव गरेको उक्त भेटमा सहभागी नेकपा नेता सुरेन्द्र पाण्डेले बताए।
भेटमा प्रधानमनत्री ओलीको भनाइ उद्धृत गर्दै नेता पाण्डेले नेपाल लाइभसँग भने, 'म यतिबेला अप्ठ्यारोमा परेको छु। तपाईंको सहयोगको खाँचो छ। सहयोग गर्नुपर्यो।'
जवाफमा नेपालले ठोस प्रस्ताव ल्याउन आग्रह गरेका छन्। पार्टीमा समस्या रहेको भन्दै बैठकबाट हल खोज्न सुझाएको पनि नेता पाण्डेले जानकारी दिएका छन्। पाण्डेले भने, 'त्यस्तो नयाँ कुनै प्रस्ताव आएन। अफ्ठ्यारो पर्दा सहयोग गर्नुहोस् पहिले पनि भन्नुहुन्थ्यो। अहिले पनि त्यही दोहोर्याउनुभयो।'
जवाफमा नेता नेपालले पार्टी एकता जोगाउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए। 'पार्टीमा तपाईं (ओली) पहिलो नम्बरको अध्यक्ष पनि हो। पार्टी एकता जोगाउन पनि सबैभन्दा बढी जिम्मेवारी तपाईंकै हुन्छ,' प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै नेता पाण्डेले भने, 'पार्टीमा साथीहरूले सचिवालय बैठक माग गरिरहनु भएको छ। बैठक गरौं। त्यहीँ छलफल गरौं।'
यसपछि प्रधानमन्त्री ओलीले नेता नेपालसँग बैठक राख्न आफू सकारात्मक भएको तर त्यसका लागि आफूलाई सहयोग गर्न आग्रह दोहोर्याएका थिए। पार्टीमा आएका समस्याको समाधान गर्ने विषयमा पनि अध्यक्ष ओलीको योजनाबारे नेता नेपालले प्रश्न राखेका थिए।
भेटमा छलफल मात्रै भएको तर कुनै निष्कर्ष ननिस्किएको बताइएको छ। पार्टीमा समस्या आएपछि अध्यक्ष ओलीले नेपालसँग तेस्रोपल्ट छुट्टै भेटवार्ता गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।