काठमाडौं– फ्रेन्च लिग वान फुटबलमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सहज जित निकालेको छ। शनिबार राति भएको खेलमा पिएसजीले रेनसलाई ३–० गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम पिएसजीको जितमा एन्जल डि मारियाले दुई गोल गर्दा मोइस कियनले एक गोल थपे। सुरुवातमै दबाबमा आएको रेनसले पहिलो हाफमा दुई गोल खाएको थियो। खेलको ११ औं मिनेटमा मोइस कियनले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए। २१ औं मिनेटमा डि मारियाले गोल गर्दा पिएसजीले पहिलो हाफसम्म २–० गोलको अग्रता लियो।
खेलको ७३ औं मिनेटमा डि मारियाले नै व्यक्तिगत दोस्रो गोल गर्दा पिएसजीले रेनसलाई ३–० गोलअन्तरले पराजित गर्न सफल भयो। रेनसविरुद्धको खेलमा पिएसजीका मुख्य दुई फरवार्ड नेयमार र केलियन एम्बाप्पे टिममा थिएनन्।
शीर्ष स्थानमा रहेको पिएसजीले जितपछि १० खेलबाट २३ अंक बनाएको छ। पराजित रेनस भने समान खेलबाट १८ अंक बनाउँदैै लिगको तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।