काठमाडौं– साविक विजेता बायर्न म्युनिक जर्मन बुन्डेस लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा बायर्नले बोरुसिया डर्टमन्डलाई ३–२ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो।
घरेलु क्लब डर्टमन्डविरुद्धको जितमा डेविड अलबा, रोबर्ट लेवान्डोस्की र लेरो सानेले गोल गरे। यता, डर्टमन्डका लागि मार्को रेउस र इर्लिङ ब्राउट हल्यान्डले गोल गरे। खेलको ४५ औं मिनेटमा मार्कोले गोल गर्दै बोरुसिया डर्टमन्डलाई १–० गोलको अग्रता दिलाए। तर पहिलो हाफकै अन्तिम समयमा डेविडले गोल गर्दै बायर्नलाई १–१ गोलको बराबरीमा ल्याए।
खेलको ४८ औं मिनेटमा लेवान्डेस्कीले गोल गर्दा बायर्नले २–१ गोलको अग्रता लियो। ८० औं मिनेटमा सानेले गोल गर्दै बायर्नलाई ३–१ गोलको अग्रता दिलाए। ८३ औं मिनेटमा हल्यान्डले गोल गर्दै ३–२ गोलको स्थितिमा ल्याएपनि डर्टमन्डले बायर्नसँगको हार टार्न सकेन।
यो जितसँगै बायर्न लिगको शीर्ष स्थानमा उक्लिएको छ। सात खेलमध्ये ६ खेलमा जित र एक खेलमा हार ब्यहोरेको बायर्नले १८ अंक बनाउँदै शीर्ष स्थानमा उक्लिएको हो। पराजित डर्टमन्ड भने लिगको तेस्रो स्थानमा छ। डर्टमन्डको सात खेलबाट १५ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।