काठमाडौं– एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा फराकिलो जित निकालेको छ। शनिबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले काडिजलाई ४–० गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम एथ्लेटिको मड्रिडको जितमा जोआओ फेलिक्सले दुई गोल गर्दा मार्कस लोरेन्टे र लुइस स्वारेजले समान १–१ गोल गरे। सुरुवातदेखि नै दबाबमा देखिएको काडिजविरुद्ध एथ्लेटिको मड्रिडले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा थप दुई गोल गरेको थियो।
आठौं मिनेटमा फेलिक्सले गोल गर्दै एथ्लेटिको मड्रिडलाई १–० गोलको अग्रता दिलाए। २२ औं मिनेटमा मार्कस लोरेन्टेले गोल गर्दै पहिलो हाफसम्म एथ्लेटिको मड्रिडलाई २–० गोलको अग्रता दिलाए। खेलको ५१ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दा एथ्लेटिको मड्रिडले ३–० गोलको अग्रता लियो। खेलको ९० औं मिनेटमा फेलिक्सले व्यक्तिगत दोस्रो गोल गर्दै एथ्लेटिको मड्रिडलाई ४–० गोलको जित दिलाए।
जारी सिजनको उपाधि दाबेदारको रुपमा समेत हेरिएको एथ्लेटिको मड्रिड लिगको शीर्ष स्थानमा छ। सात खेलबाट पाँच खेलमा जित र दुई खेलमा बराबरीमा रोकिएको एथ्लेटिको मड्रिडको १७ अंक छ। पराजित काडिज भने ९ खेलबाट १४ अंक बनाएर लिगको छैटौं स्थानमा छ। लिगको दोस्रो स्थानमा भने रियल सोसाइडेड रहँदा तेस्रो स्थानमा साविक विजेता रियल मड्रिड छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।